विश्व

क्यानडामा भिषण तुफान, ब्रिटिश कोलम्बिया क्षेत्रमा सङ्कटकाल

REUTERS

ब्रिटिश कोलम्बिया । क्यानडामा भिषण तुफानले जनधनको क्षति गरेको छ । एउटा ठूलो तुफानपछि सडक र रेल सञ्जालमा अवरोध उत्पन्न भएको बीबीसीले जनाएको छ । क्यानडाको पश्चिमी प्रान्त ब्रिटिश कोलम्बियामा अहिले सङ्कटकाल घोषणा गरिएको छ। विपद्‌बाट प्रभावित त्यस क्षेत्रका बासिन्दाको सहायताका लागि क्यानडाको फौजका कैयौँ जवान र अधिकृतहरू खटिएका छन्। उक्त क्षेत्रमा आइतवार राति ठूलो तुफान आएको थियो।

त्यसबाट हजारौँ मानिसहरू प्रभावित भएका छन्। प्रधानमन्त्री जस्टिन ट्रुडोले राहत दिने प्रतिबद्धता जनाएका छन्। उनले सेनाले पुनर्निर्माणका लागि सहयोग गर्ने बताए। पहिरोमा परेर एक जना महिलाको ज्यान गएको छ भने दुई जना हराइरहेका छन्। उक्त क्षेत्रबाट कैयौँ मानिसहरूलाई सुरक्षित स्थलमा सारिएको छ। त्यसले गर्दा केही पहाडी क्षेत्रका सहरहरूसँग सम्पर्क टुटेको छ।

क्यानडाको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो पनि अवरुद्ध भएको समाचारमा उल्लेख छ । सङ्कटकालीन अवस्थाले अधिकारीहरूलाई सडक र रेल सेवालाई पुनः सुरु गर्न थप शक्ति प्रदान गर्नेछ।