फिचर

एमसीसीबारे अमेरिकी सहायक विदेशमन्त्रीको प्रचण्डसँग विशेष वार्ता

काठमाडौं । नेपालमा एमसीसी परियोजनाबारे सबैभन्दा खुलेर विरोध गरिरहेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग नेपाल भ्रमणमा रहेका मेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले विशेष वार्ता गरेका छन् । उनले नेपाललाई यो सम्झौता चाहिने वा होइन भन्नेबारे विशेष चासो राखेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको सचिवालयलाई उदृत गर्दै स्थानीय संचारमाध्यमले जनाएका छन् । बीबीसीका अनुसार शुक्रबार उनीहरुबीच झन्डै ४५ मिनेटसम्म छलफल भएको छ ।

छलफलमा लूले अमेरिकी अनुदान सम्झौता एमसीसी नेपालका लागि आवश्यक छ किन छैन भनेर प्रश्न राखेका हुन् । यो आयोजना नेपाललाई नचाहिने भए अरू देशले मागिरहेको समेत उनले बताएको बताइएको छ । भेटघाटमा अमेरिकी पक्षले एमसीसीबारे समयसीमा नै तोकेर टुङ्गोमा पुग्न आग्रह गरेका छन् । प्रत्युत्तरमा पूर्वप्रधानमन्त्री प्रचण्डले सबै राजनीतिक दल, बुद्धिजीवी, पत्रकारलाई राखेर राष्ट्रिय सहमति बनाउने प्रयास गर्ने बताएका छन् ।

उनले त्यहाँ सहमति भए आयोजनालाई सकारात्मक ढङ्गले लैजान पहल गर्ने बताए । यसअघि लूले प्रधानमन्त्री शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए । ती दुबै नेता भने एमसीसी पास हुनुपर्ने पक्षमा छन् । नेपाल र अमेरिकाबीच सन् २०१७ मा हस्ताक्षर भएको एमसीसी कम्प्याक्ट सम्झौताको संसदीय अनुमोदन गर्नुपर्छ । तर, यसको समय बित्दै जाँदा अमेरिकाले उच्च पदस्थ अधिकारी पठाएर दवाव सिर्जना गरिरहेको छ ।