फिचर

कमला ह्यारिस राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बन्न सफल

GETTY IMAGES

वासिंटन डिसी । अमेरिकामा राष्ट्रपतिको अधिकार पाउने पहिलो महिला बनेकी छिन् । राष्ट्रपति जो बाइडनको नियमित स्वास्थ्य परीक्षण सुरु भएसँगै उपराष्ट्रपति कमला ह्यारिस छोटो समयका लागि राष्ट्रपतिको अधिकार प्राप्त गर्ने पहिलो अमेरिकी महिला बनेकी हुन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बाइडनलाई नियमित कोलोनोस्कपीको परीक्षणका क्रममा शुक्रवार एनेस्थेसिया दिइएका बेला ८५ मिनेटका लागि ५७ वर्षकी ह्यारिसलाई राष्ट्रपतिका रूपमा अधिकार दिइएको छ । प्रक्रियापश्चात् बाइडनका चिकित्सकले एउटा विज्ञप्ति सार्वजनिक गरेका थिए । जसमा उनी स्वस्थ अनि आफ्नो काम गर्न सक्षम रहेको बताएका छन् ।

राष्ट्रपति बाइडनको ७९औँ जन्मदिनको एक दिनअघि उनको चिकित्सकीय परीक्षण गरिएको हो। अधिकारीहरूका अनुसार ह्यारिसले ह्वाइट हाउसको वेस्ट विङ्गमा रहेको आफ्नो कार्यालयबाट कार्यसम्पादन गरेकी छन्।

ह्यारिस अमेरिकाको उपराष्ट्रपति निर्वाचित हुने प्रथम महिलाका साथै पहिलो अश्वेत र दक्षिण एशियाली अमेरिकी हुन्। ह्वाइट हाउसकी प्रवक्ता जेन साकीले यस्तो परिस्थितिमा अस्थायी रूपमा अधिकार प्रत्यायोजन गर्नु अभूतपूर्व नरहेको र यो अमेरिकी संविधान अनुरूप रहेको बताएको बीबीसीले लेखेको छ ।