समाचार

पुनः कोरोनाको इपिसेन्टर बन्दै यूरोप, अष्ट्रियामा पूर्ण लकडाउन

Photo source : AP News

काठमाडौ्र । यूरोप कोरोना भाइरसको पुनः इपिसेन्टर बन्दै गएको छ । युरोपका केही देशमा कोरोनाभाइरस सङ्क्रमणका घटनामा वृद्धि भएको बीबीसीले लेखेको छ । कोभिडको नयाँ लहरका बारेमा चिन्ता समेत व्यक्त गरिएका छ । जर्मनी, अस्ट्रिया, नेदरल्यान्ड्स, इटली र बेलायतमा कोभिड सङ्क्रमण दर उकालो लाग्न थालेपछि त्यहाँ विभिन्न प्रतिबन्धात्मक उपायहरू अपनाउनुका साथै खोप अभियानलाई तीव्र बनाउन थालिएको सुमाचारमा उल्लेख छ ।

अस्ट्रियाले सोमवारदेखि राष्ट्रभरि पूर्ण लकडाउनको घोषणा गरेको छ। यो लकडाउन २० दिनसम्म रहने छ । अस्ट्रियामा सन् २०२२ फेब्रुअरी १ देखि कोभिड खोपलाई लगाउनै पर्ने कानुनी बाध्यता बनाइएको छ। अस्ट्रियामा पश्चिम युरोपकै सबैभन्दा धेरै सङ्क्रमण देखिएको छ। त्यहाँ कमैले मात्रै खोप लगाएको समेत समाचार छ । अस्ट्रियामा अहिले प्रति एक लाख जनसङ्ख्यामा १,०५० जनामा सङ्क्रमण देखिएको छ ।

लकडाउनमा अस्ट्रियाली नागरिकहरूलाई घरबाट काम गर्न भनिएको छ भने अत्यावश्यक बाहेकका व्यापार व्यवसाय बन्द गरिने छन्। जर्मनीमा भने गएको साता दैनिक अत्यधिक सङ्क्रमण देखिएको छ। स्वास्थ्यमन्त्री यान्स स्पानले यसलाई “एकीकृत राष्ट्रिय बल आवश्यक पर्ने एउटा राष्ट्रिय आपत्काल” भनेका छन्। यसको नतिजा स्वरूप जर्मनीले खोप नलगाएका व्यक्तिलाई थप कडाइ गरिने बताएको छ।

अस्पताल भर्ना धेरै भएका स्थानमा खोप नलगाएका व्यक्तिलाई प्रतिबन्ध लगाउन चान्सलर एङ्गेला मेर्कल र जर्मनीका १६ प्रान्तका नेताहरू सहमत भएका छन्। नयाँ नियमानुसार खोप नलगाएका व्यक्तिलाई खेल स्थल, सांस्कृतिक कार्यक्रम र रेस्टुराँजस्ता स्थानहरूमा प्रवेश निषेध गरिने छ। मेर्कलले जर्मनीको कोभिड अवस्थालाई नाटकीय भन्दै तुरुन्तै सङ्क्रमणमा ब्रेक लगाउनु पर्ने बताएको समाचार छ ।

जर्मनीमा बिहीवार थप ६५ हजार जनामा सङ्क्रमण पुष्टि भएको थियो जुन महामारी सुरु भएयताकै सबैभन्दा ठूलो दैनिक सङ्क्रमण हो। शुक्रवार नेदरल्यान्ड्सको प्रहरीले रोटरड्याममा कोभिड प्रतिबन्धविरोधी प्रदर्शनकारीमाथि गोली चलाउँदा कम्तीमा दुई जना घाइते भएका छन्। प्रदर्शनकारीहरूले ढुङ्गा मुढा गर्नुका साथै प्रहरीका गाडीमा आगजनी गरेका थिए। कोभिड खोप पासको सरकारी योजनाको र नयाँ वर्षमा पटाका निषेध गर्ने निर्णयको विरोधमा सयौँ प्रदर्शनकारीहरू जम्मा भएका हुन्।


महामारीयता सबैभन्दा ठूलो सङ्ख्यमा दैनिक सङ्क्रमण पुष्टि भएपछि गत शनिवार नेदरल्यान्ड्सले तीन साता लामो खुकुलो कोभिड लकडाउन लागु गरेको छ। रोटरड्याममा आपत्काल घोषणा गरी रेल स्टेशनहरू बन्द गरिएका छन्। हेगमा पनि विरोध भएका े बीबीसीले लेखेको छ ।