फिचर

एम्बुलेन्स किन्न प्रवासी नेपालीले पठाएको २८ लाख उतै फिर्ता, के हो कारण ?

Photo : NBA

बागलुङ । बागलुङमा एम्बलेन्स खरीद गर्न प्रवासमा रहेका नेपालीले पठाएको २८ लाख २ हजार रुपैयाँ उतै फिर्ता गरिएको छ । धौलागिरि अस्पतालका लागि सुविधायुक्त एम्बुलेन्स खरिद गर्न अष्ट्रेलियामा रहेका बागलुङेले यो रकम पठाएका थिए । राससका अनुसार बागलुङ–अष्ट्रेलिया कमिटीमार्फत प्राप्त सो सहयोग रकमबाट दोस्रो श्रेणीको ट्रमा एम्बुलेन्स किन्ने योजनामा अस्पताल थियो । तर, यो रकमले एम्बुलेन्स किन्न नपुगेपछि रकम फितौ गरिएको हो ।

बजेट अपुग भएपछि बाध्य भएर पैसा फिर्ता गर्नुपरेको हालै सेवानिवृत्त भएका अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरलाई उदृत गर्दै राससले लेखेको छ । ग्रामीण भेगमा फोर ह्विलबाहेकका एम्बुलेन्स किन्न नपाइने सरकारी नीतिका कारण प्रवासी नेपालीले पठाएको रकम सदुपयोग गर्न नसकिएको उनको भनाइ छ । भन्सार छुटसहित ५५ लाख पर्ने सो एम्बुलेन्सका लागि थप २७ लाख रुपैयाँ अपुग भएको हो ।

अस्पतालसँग स्रोत नभएको र मन्त्रालयसम्म धाउँदा पनि बजेट नपाएपछि जनस्तरबाट जुटेको सहयोग फिर्ता भएको बताइएको छ । अस्पतालले सुरुमा भारतीय फोर्स कम्पनीको टु ह्विल एम्बुलेन्स खरिदका लागि प्रक्रिया अगाडि बढाइएको थियो । ८० लाख पर्ने सो एम्बुलेन्स भन्सार छुटमा २८ लाख रुपैयाँमा आउँथ्यो ।

तर, मन्त्रालयले अनुमति नदिए पनि यो प्रक्रिया समेत अगाडी बढ्न सकेको थिएन गत वैशाखदेखि एम्बुलेन्सका लागि सहयोग जुटाउनदेखि खरिद प्रक्रिया थालेको समितिका पदाधिकारीको पदावधि गत असोज २२ देखि सकिएको छ । नयाँ पदाधिकारीको नियुक्ति अझै हुन सकेको छैन ।