फिचर

रोजगारीको खोजीमा चार महिनामा १ लाख ३६ हजार विदेशिए, पहिलो गन्तब्य कतार

काठमाडौं । चालू आर्थिक वर्ष २०७८\७९ मा पहिलो चार महिनामा वैदेशिक रोजगारीका लागि १ लाख ३६ हजार मानिस विदेशिएका छन् । श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या एक लाख ३६ हजार पुुगेको वैदेशिक रोजगार विभागले जनाएको छ । कात्तिकमा ५५ हजार, असोजमा ४० गरी ९५ हजार र साउन तथा भदौमा ४१ हजार ८४१ ले श्रम स्वीकृति लिएको देखिएको छ । गत दुई आर्थिक वर्षमा कोरोना भाइरसको महामारीका कारण वैदेशिक रोजगारीमा जाने मानिसहरु घटेका थिए ।

तर, गन्तब्य मुलुकको आर्थिक क्रियाकलाप पुनः चलायमान भएसँगै वैदेशिक रोजगारीमा जाने समेत बढेका छन् । चालू आर्थिक वर्षको चार महिनामा वैदेशिक रोजगारीमा जानेमध्ये पहिलो रोजाईमा कतार देखिएको छ । चार महिनामा ५० हजारभन्दा बढी श्रम स्वीकृति कतारका लागि जारी भएका छन् । कतारपछि साउदी अरबमा ४२ हजारको श्रम स्वीकृति छ । संयुक्त अरब इमिरेट्स, मलेसिया, कुुवेत, ओमान र बहराइन समेत धेरै नेपाली जाने मुलुकमा पर्छन् ।