फिचर

अमेरिकामा फेरि बढ्न थाल्यो कोरोना संक्रमण, पछिल्लो साता १८ प्रतिशत वृद्धि

वासिङटन : संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताको तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरस संक्रमण बढेको छ । स्वास्थ्य अधिकारीहरुले यस्तो जानकारी दिएका हुन् । यहाँको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन, सीडीसीले जनाएअनुसार प्रत्येक दिन कम्तीमा पनि ९० हजार जना संक्रमित हुने गरेका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट अमेरिकामा ९२ हजार ८०० जना संक्रमित भएका छन् । उनीहरुका अनुसार दैनिक कम्तीमा पनि ९० हजार जनामा यो भाइरसको संक्रमण भेटिने गरेको छ । हरेक दिन अस्पताल भर्ना हुनेको संख्या पनि बढ्दै गएको छ ।

प्रत्येक दिन कम्तीमा पनि ६ प्रतिशतका दरले अस्पताल भर्ना हुने बिरामीहरुको संख्या बढिरहेको छ । पछिल्ला दिनहरुमा यसरी संक्रमित तथा मृत्यु हुनेको संख्या बढ्दै गएको देखिएको हो । यहाँ कोभिड विरुद्धको खोप लगाउने क्रम अझै जारी छ । तर खोप नलगाउनेको संख्या पनि थुप्रै रहेको छ ।

उक्त सेन्टरका अनुसार यो खोप नलगाउने व्यक्तिलाई लगाउने भन्दा संक्रमण सर्ने ६ गुणा बढी डर हुन्छ । त्यसैगरी खोप नलगाउने व्यक्तिको मृत्यु दर पनि लगाउनेको भन्दा कम्तीमा पनि १४ गुणा बढी मृत्युको सम्भावना रहन्छ ।