विज्ञान प्रविधि

अल्बर्ट आइन्स्टाइनको सापेक्षतासम्बन्धी सिद्धान्तको पाण्डुलिपी १ करोड ३० लाख डलरमा बिक्रि

REUTERS\BBC

पेरिस । अल्बर्ट आइन्स्टाइनले सापेक्षतासम्बन्धी सिद्धान्त तयार गर्ने प्रयास गरिरहँदा गरेको हिसाबकिताबको एक पाण्डुलिपि १ करोड ३० लाख डलरमा लिलामीमा बिक्रि भएको छ । बीबीसीका अनुसार फ्रान्सको पेरिसस्थित क्रिस्टिको लिलामी घरमा यो पाण्डुलिपी बिक्रि भएको हो । यो बिक्रीले वैज्ञानिक दस्तावेजको लिलामीको कीर्तिमान नै तोडेको समाचारमा उल्लेख छ ।

सैद्धान्तिक भौतिकशास्त्रीको महान् वैज्ञानिक काम देखिएका उपलब्ध दुई मध्ये यो एउटा कागज हो। सन् १९१५ मा प्रकाशित यो सिद्धान्तले मानवजातिको अन्तरिक्ष, समय र गुरुत्त्वाकर्षणबारेको बुझाइ परिवर्तन गरिदिएको थियो। हिसाबकिताबको यो पाण्डुलिपि आइन्स्टाइन र उनका स्वीस सहकर्मी मिसेल बेसोले सन् १९१३ र १९१४ तयार गरेका थिए।

यी कागजात पनि बेसोले नै राखेका थिए। क्रिस्टिको लिलामी घरले यी पाण्डुलिपिलाई जोगाएर राख्ने बेसोको सोचको तारिफ समेत गरेको समाचार छ । आइन्स्टाइनले आफूले लेखेका थोरैमात्रै कागजात सुरक्षित राखेको बताइएको छ । सोहीकारण यो दस्तावेजलाई महत्वपूर्ण मानिएको हो ।

पाण्डुलिपिमा कालो कलमले हिसाबकिताब गरिएको छ । बेल्लोएका अनुसार सिद्धान्त तर्जुमा गर्ने दौरान त्यहाँ थुप्रै गल्ती देखिएका छन् । लिलामी घर क्रिस्टिले यो बिक्रीले यी कागजातको महत्त्व बुझ्ने विश्वभरिका सङ्ग्रहकर्तालाई आकर्षित गरेको समेत उल्लेख गरेको छ ।

५४ पृष्ठको यो पाण्डुलिपि कसले खरिद गरेको भन्ने नखुलाइएको बीबीसीको भनाई छ । आइन्स्टाइनको सापेक्षताको सिद्धान्तले ब्रह्माण्ड, ग्रहका कक्ष र ब्ल्याक होलको उत्पत्तिमा थप स्पष्टता ल्याएको थियो।