स्वास्थ्य

अफ्रिकामा देखिएको संक्रामक भेरियन्टका कारण बेलायतले रोक्यो ६ मुलुकको हवाई उडान

Photo source : AP News

लण्डन । अति सङ्क्रामक मानिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट पुष्टी भएपछि बेलायतले विभिन्न ६ वटा मुलुसँगको उडान रद्द गरेको छ । बेलायतका स्वास्थ्यमन्त्री शाजिद जावेदले शुक्रवार मध्याह्न १२ बजेदेखि ती देशहरूलाई रातो सूचीमा राखिएको बताएका छन् । त्यहाँबाट आउने यात्रुले क्वारन्टीनमा बस्नुपर्ने नियम समेत बेलायतले बनाएको छ । नयाँ भेरियन्टलाई अहिलेसम्मकै सबैभन्दा खराब मानिएको छ । यो भेरियन्टले अहिले खोपका कारण आएको प्रतिरोधी क्षमतालाई नै तोड्नसक्ने वैज्ञानिकहरुले बताएका छन् ।

यो भेरियन्ट अहिलेसम्म दक्षिण अफ्रिका, हङकङ र बोत्स्वाना गरी ५९ जनामा देखिएको छ । बेलायतले दक्षिण अफ्रिका, नामिबिया, जिम्बाब्वे, बोत्स्वाना, लेसेथो र इस्वाटीटीसँगका सबै उडान रद्द गरेको हो । ती छ देशहरूलाई रातो सूचीमा राख्नुको कारण सावधानी र आफ्नो सीमाको सकेसम्म सुरक्षा गर्नुू रहेको बेलायत सरकारको भनाई छ । शुक्रवार मध्याह्नदेखि विगत १० दिनभित्र ती देश भ्रमण गरेका विदेशी र आयरल्यान्डका नागरिकहरूलाई इङ्गल्यान्ड प्रवेश निषेध गरिएको बिबिसीले जनाएको छ ।