अन्तर्वार्ता

रसुवागढी नाका, द्विपक्षीय व्यापार र पारवहनका लागि सडक स्तरोनन्ति मेरो प्राथमिकता- नवराज जैसी प्रजिअ रसुवा

हिमाली जिल्ला भनेर चिनिने रसुवा जिल्लामा नवराज जैसी प्रमुख जिल्ला अधिकारी भएर आउनु भएपछि सेवाग्राहीले प्रभावकारी सेवा प्राप्त गर्ने गरेको महसुस गर्दैगर्दा सोही परिप्रेक्षमा जिल्ला प्रशासन कार्यालय रसुवाको प्रमुख जिल्ला अधिकारी जैसीसँग सरस्वती न्यौपानेले गरेको कुराकानी:

१. यस हिमाली जिल्ला रसुवामा जनताको सेवा गर्न पाउँदा कस्तो महसुस गर्नु भएको छ ?

👉️असाध्यै भाग्यमानी महसुस गरेको छु। राजधानीदेखि नजिकै रहेको विभिन्न धार्मिक, पर्यटकीय तथा अन्तराष्ट्रिय नाकाको रुपमा रहेको यस पवित्रभूमी रसुवामा प्रमुख जिल्ला अधिकारीको रुपमा रही जनताको सेवा गर्न पाउँदा खुसी लागेको छ ।

२. तपाईं रसुवामा आउनु भएको पनि लगभग तीन महिना हुदैछ, यो तीन महिनामा कार्यालयमा आउने सेवाग्राहीलाई के कसरी सेवा प्रदान गर्नु भएको छ ?

👉️ म प्रमुख जिल्ला अधिकारीको रूपमा आईसकेपछि यस जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने नागरिकता, पासपोर्ट लगायतका सेवाहरु विहान अफिस समयदेखि वेलुकी साँझसम्म प्रदान गर्ने गरिएको छ। सेवाग्राही भएको अवस्थामा म लगायत कार्यालयमा आ-आफ्नो जिम्मेवारी सम्हाल्नु भएका सबै कर्मचारीहरु साँझ नपरुन्जेलसम्म कार्यालयमा रहेर सेवा प्रदान गर्ने गरेका छौं । अत्यन्तै चिसो बढेको यस समयमा समेत साँझसम्म कार्यालयमा रही सेवा प्रवाहमा खटिई रहनु भएकोमा कार्यालयमा कार्यरत सम्पूर्ण कर्मचाहीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु ।

३.रसुवामा प्रमुख जिल्ला अधिकारीको रूपमा आउनु भएको छ? आफ्नो कार्यकालमा के कस्ता कामलाई प्राथमिकता दिनु भएको छ ?

👉️म जिल्लामा पहिलोपटक प्रमुख जिल्ला अधिकारीको रुपमा आएको छु। जिल्लामा शान्ति सुरक्षा कायम गर्ने, नागरिक सेवा प्रवाहलाई पद्धति र पारदर्शीमुखी बनाउने, विकास निर्माण कार्यमा सहजिकरण गर्ने र सरकारका तहहरुबीच समन्वय कायम गर्ने कार्यमा नै म केन्द्रीत रहेको छु। खासगरी यस जिल्लामा मित्रराष्ट्र चीनसँगको रसुवागढी अन्तराष्ट्रिय नाका भएकोले द्विपक्षीय व्यापार सहजिकरण र पारवहन सहजताकालागि सडक स्तरोनन्तिलाई प्राथमिकतामा राखेको छु ।

४. तपाई प्रमुख जिल्ला अधिकारी भएर आएपछि केही उल्लेखनीय कार्य गर्नु भयो की ? छन भने खुलाई दिनोस न।

👉️ म यस जिल्लामा हाजिर भएपछि पहिलो महत्वपूर्ण काम जिल्ला प्रशासन कार्यालयबाट प्रदान गरिने सेवा वेलुकी साँझसम्म प्रदान गर्ने गरिएको छ। दोस्रो आम नागरिकको हितलाई दृष्टिगत गरी यातायात व्यवसायीको सहमती मै यस जिल्लामा सार्वजनिक यातायातको बस भाडा घटाउने कार्य गरियो। फलस्वरुप धुन्चे – काठमाडौं सार्वजनिक बस भाडा साविक भन्दा ८७ रुपैयाले कमी भएको छ। यस कार्यले गरिब र विपन्न नागरिकलाई ठूलो राहत भएको होला भन्ने महशुस गरेको छु । त्यसैगरी गोसाईकुण्ड पदमार्गमा रहेका सबै होटलहरु सँधै नखोल्ने गरेका कारण आन्तरिक तथा वाह्य पर्यटकलाई खान,बस्न लगायतका कुरामा सास्ति हुनेगरेको थियो। लामटाङ राष्ट्रिय निकुञ्ज कार्याललाई प्रमुख जिल्ला अधिकारीको कडा निर्देशनपछि व्यापारीहरुको एकखालको उक्त सिन्डिकेट हटेको छ । मुलुककै लाईफ लाईनको रुपमा रहेको रसुवागढी अन्तराष्ट्रिय नाकामा कन्टेनर पार्किङ यार्ड नहुँदा अहिले ठूलो समस्या झेल्नु परेको छ । यस समस्याको समाधान गर्न अहिले ५ करोड भन्दा बढी लागतमा कन्टेनर पार्किङ यार्ड निर्माण कार्य प्रारम्भ स्वरुप टेन्डर सूचनामा गएको छ । यसलाई महत्वपूर्ण कार्यको रुपमा लिएको छु ।

५. तपाईं आईसकेपछि जिल्लामा शान्ति सुरक्षाको अवस्था कस्तो रहेको छ?

👉️म प्रमुख जिल्ला अधिकारी भएर आईसकेपछि शान्ति सुरक्षा कायम गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धानबीच सुचना संकलन र सुरक्षा व्यवस्थापनमा समन्वय र सहकार्यको प्रवन्ध मिलाएको छु। जिल्लामा शान्ति सुरक्षा कायम गर्न सुरक्षाकर्मीहरु अहोरात्र खट्ने गरेका र स्थानीय सरकार, नागरिक समाज, सञ्चारकर्मी र आम नागरिकको साथ र सहयोगका कारण जिल्लामा शान्ति सुरक्षाको अवस्था मजबुद रहेको महशुस गरेको छु ।