समाचार

पाकिस्तानमा भिषण हिमपात, कम्तिमा २१ को मृत्यु

Photo : Inter Services Public Relation via EPA-EFE

इस्लामावाद । पाकिस्तानमा हिमपातमा परी ठूलो मानवीय क्षति भएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार देशको उत्तरी भेगमा हिमपातमा परि कम्तिमा २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरी, उनकी श्रीमती र ६ जना छोराछोरी समेत छन् । अर्को एकै परिवारका पाँच सदस्यको समेत ज्यान गएको छ ।

बीबीसीका अनुसार पाकिस्तानको राजधानी इस्लामावादबाट करिब ६० किलोमिटर उत्तरपूर्वमा पर्ने मुरीको हिल स्टेशसनमा हिमपातमा मानिसहरुले ज्यान गुमाएका हुन् । खबर अनुसार हिल स्टेशनमा हिउँमा खेल्न गएको समयमा उनीहरुको ज्यान गएको हो । शनिबार चार फिटसम्म हिउँ जमेपछि सडक बन्द भएको थियो । पर्यटक बीचबाटोमै अलपत्र परेका थिए ।

कतिपय सवारी साधन हिउँमै पुरिएको समेत खबर छ । धेरैको चिसोमा कठ्याङ्ग्रिएर ज्यान गएको हो । हिमपातपछि भएको यो घटनापछि पाकिस्तानको पन्जाब सरकारले आपतकाल घोषणा गरेको छ । सेनाको टोली बाटो खुलाउने र हिउँमा फसेकाहरुको उद्धार गर्ने कार्यमा जुटेको छ ।