विश्व

म्यानमारमा नेत्री आङ सान सूचीलाई थप चार वर्षको सजाय सुनाइयो

काठमाडौं । म्यान्मारमा नेत्री आङ सान सूचीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। सैन्य सरकारले उनीविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एक मुद्दामा यस्तो फैसला सुनाएको हो । अदालतले सूचीले अवैध रूपमा वाकीटकी राखेको र आयात गरेको एवं कोभिड १९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको बीबीसीले लेखेको छ । यसअघि सू चीलाई गत डिसेम्बरमा एउटा मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाइएको थियो।

गत फेब्रुअरी महिनामा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि उनलाई हिरासतमा राखिएको छ। उनीविरुद्ध झन्डै एक दर्जन अभियोग लागेको छ । तर सूचीले ती सबैको खण्डन गरेकी छन्। उनीविरुद्ध अन्यायपूर्वक मुद्दा चलाइएको भन्दै निन्दा समेत भइरहेको छ । सैन्य कू भएको दिन सैनिकहरूले उनको घर खानतलासी गर्दा फेला पारेका सञ्चार उपकरणका आधारमा उनलाई यो मुद्दा चलाइएको हो ।

राजधानीमा गरिएको सुनुवाइमा सञ्चारमाध्यमलाई जान अनुमति दिइएको थिएन। सू चीका वकिलहरूलाई सञ्चारमाध्यम तथा सर्वसाधारणसँग सम्पर्क गर्न दिइएको छैन। अहिलेको निर्णयपछि सू चीले पाउने जेल सजायको कुल अवधि छ वर्ष पुगेको छ।