विज्ञान प्रविधि

अमेरिकामा एक पुरुषमा सुँगुरको मुटको सफल प्रत्यारोपण

AP

बाल्टिमोर । आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष बनेका छन् । बीबीसीले लेखे अनुसार चिकित्सकले बाल्टिमोरमा सात घण्टा लामो प्रयोगात्मक प्रक्रियामार्फत मुटु प्रत्यारोपण गरेका हुन् । प्रत्यारारेपण गरेको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको छ।


यो प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो, यद्यपि उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट छैन।
‘प्रत्यारोपण गर वा मरको अवस्था थियो,’ ५७ वर्षीय बेनेटले शल्यक्रियाको एक दिनअघि भनेका थिए, ‘मलाई थाहा छ यो अँध्यारोमा हानिएको गोली हो तर यो नै मेरो अन्तिम विकल्प हो।’

युनिभर्सिटी अफ मेरिल्याण्ड मेडिकल सेन्टरका चिकित्सकहरूलाई अमेरिकाको चिकित्सासम्बन्धी नियामक निकायले यो प्रक्रिया गर्न एउटा विशेष खालको छुट दिएको थियो। प्रत्यारोपण गर्ने चिकित्सा टोलीलाई यसले वर्षौँको अनुसन्धानको परिणाम दिएको छ र यसले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्छ।

शल्यचिकित्सक बार्ट्ली पी। ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएको युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनको विज्ञप्तिमा उल्लेख छ। अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको ज्यान गइरहेको छ। एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइएको छ।