फिचर

उच्च अंकले बढ्यो नेपाली सेयर बजार

काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बुधबार ३० अंकले करेक्शन आएको बजार फेरि आज उच्च अंकले बढेको हो । यससाता नेप्से समग्रमा १६५ अंकले बढेको छ ।

सूचकमा उछाल आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ३७ करोडले घटेर पौने ७ अर्बमा सीमित भएको छ ।

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ५४.१९ अंकले बढेर २८५७.७५ विन्दुमा पुगेको छ । आज २२४ कम्पनीको ६ अर्ब ६६ करोड ९७ लाख ४८ हजार ५६८ रुपैयाँ बराबरको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ वटा समूहमध्ये अन्य बोहक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ४.९० प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स, माइक्रोफाइनजान्स र लगानी समूहको परिसूचक पनि ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज कारोबार भएका २२४ कम्पनीमध्ये २०० कम्पनीको सेयर मूल्य बढेको छ भने जम्मा १८ कम्पनीको मूल्य घटेको छ । ६ कम्पनीको मूल्य भने स्थिर रहेको छ ।

आज माथिल्लो तामाकोशीको सर्वाधिक कारोबार भएको छ । यसको ३४ करोड बढीको सेयर किनबेच भएको छ । त्यस्तै, अपी पावरको २३ करोड र निफ्रा २२ करोड बढीको कारोबार भई धेरै कारोबार हुने शीर्ष तीन कम्पनीमा रहे ।

उच्च अंकले बढेको बजारमा मध्यभोटेकोशी जलविद्युत्को सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

त्यसैगरी, माउन्टेन हाइड्रो, कर्णाली डेभलपमेन्ट बैंक र शिवश्री हाइड्रोपावरको मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ । त्यस्तै, आइसीएफसी फाइनान्स ८.५४, रसुवागढी, ङादी पावर, माथिल्लो तामाकोशीको मूल्य ७ प्रतिशतले बढेको छ भने राधी जलविद्युन्, गणपति माइक्रोफाइनान्स, अरुण काबेली र पञ्चकन्या माइका सेयरधनीले ६ प्रतिशत कमाएका छन् ।

बढ्दो बजारमा आजनबिल बैंकका डिबेञ्चरधनीले सबैभन्दा धेरै २.०३ प्रतिशत गुमाएका छन् ।