फिचर

धितोपत्र बोर्डको अध्यक्ष पदका लागि १५ जनाको आवेदन, को– को छन् प्रतिस्पर्धामा ?

काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका छन् ।

नेपाली पूँजीबजार क्षेत्रको नियमनकारी निकायको प्रमुख पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको अन्तिम दिन बिहीबारसम्म १५ जनाको आवेदन परेको हो।

नेपाल सरकार अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्ड अध्यक्ष बोर्ड अध्यक्ष छनोट समितिले सूचना जारी गरेर बोर्डको अध्यक्ष छनोट गर्न पुनः आवेदन खुला गरेको थियो ।

गत कात्तिक ११ गते अध्यक्षका लागि पहिलोपटक दरखास्त माग गरेको मन्त्रालयले दुई महिनापछि फेरि नयाँ विज्ञापन खुलाएको थियो । दोस्रो पटक खुलाएको विज्ञापनमा डा. गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, मुक्ति अर्याल ,रमेश अधिकारी, चिरन्जिवी चापागाई, डा. नवराज अधिकारीको आवेदन परेको छ ।

त्यस्तै अम्बिका शर्मा लामिछाने, कृष्णराज पोखरेल, डा. जीवन अंगाई, रमेश कुमार हमाल, सिताराम थपलिया, डा. केशवप्रसाद श्रेष्ठ, अनिलराज पौडेल ,निरज गिरी र हेमन्त बस्यालको आवेदन परेको छ ।

बुक बिल्डिङ विधिबाट धितोपत्रको सार्वजनिक निष्कासनको प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर परिवारको नाममा खरिद गरेपछि विवादित तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको थियो ।

आवेदन दिएका मध्येबाट अध्यक्ष सिफारिस समितिले तीनजनाको नाम मन्त्रिपरिषद्समक्ष सिफारिस गर्नेछ । त्यसमध्येबाट मन्त्रिपरिषद्ले एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

सिफारिस समितिको संयोजकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वराज पौडेल छन् । सदस्यमा अर्थसचिव मधु मरासिनी र विज्ञ सदस्यमा डा. जीवनाथ भुसाल छन् ।