समाचार

अन्तःशूल्क स्टीकर छपाई नेपालमै गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले अन्तःशुल्क स्टिकर को सुरक्षित मुद्रण नेपालमै गर्न निर्देशन दिएका छन् । काभ्रेको पनौतीस्थित आईटी पार्कमा जडान हुँदै गरेको सुरक्षण मुद्रण प्रिन्टिङ प्रेसको बिहीवार निरीक्षण गर्दै उनले अर्थ मन्त्रालयलाई आवश्यक स्टिकर तत्कालै उपलब्ध गराउन सुरक्षण मुद्रण केन्द्रलाई निर्देशन दिए । उनका अनुसार अर्थलाई मात्र करिब तीन अर्ब पिस स्टिकर चाहिन्छ । तीन अर्ब स्टिकर छाप्न यस्ता मेशिन कति चाहिन्छन्, तत्काल ल्याएर जडान गर्न समेत उनले आग्रह गरे ।

उनले अब एक वर्षको अवधिमा मन्त्रालयलाई आवश्यक पर्ने परिमाणको स्टिकर छाप्न सक्नेगरी व्यवस्था गर्न निर्देशन दिएका छन् । जडान हुँदै गरेका अत्याधुनिक मेशिनले नोटबाहेक अन्य सबै किसिमका मुद्रण गर्ने जानकारी आफूलाई दिइएको बताउँदै उनले यसको ठूलो बजारसमेत रहेको उल्लेख गरे । उनले बैंक, यातायात, मालपोतलगायतका विभिन्न क्षेत्रको काम यसले पाउनसक्ने बताए । आफूले सुरक्षण प्रिन्टिङ प्रेसमा नाफा मात्रै देखेको स्पष्ट पार्दै मन्त्री शर्माले यसका लागि सरकार लगानी गर्न नहिच्किचाउने बताए । यसबाट अर्बौँको राजस्व चुहावटलाई नियन्त्रण गर्न सकिने विश्वास उनको छ ।