विश्व

उत्तर कोरियाली ह्याकरले चोरे ४० करोड डलरको क्रिप्टोकरेन्सी

काठमाडौं । उत्तर कोरियाली ह्याकरले ४० करोड डलर बराबरको क्रिप्टोकरेन्सी चोरी गरेको खुलासा भएको छ । गत वर्ष उत्तर कोरियाली ह्याकरहरूले विभिन्न क्रिप्टोकरेन्सी मञ्चमा कम्तीमा सात पटक आक्रमण गरेर झन्डै ४० करोड अमेरिकी डलरजतिको डिजिटल मुद्रा चोरेको दाबी एउटा प्रतिवेदनले गरेको बीबीसीले लेखेको छ । ब्लकचेनबारे अनुसन्धान गर्ने संस्था चेनएनलिसिसुका अनुसार उत्तर कोरियाका साइबर अपराधीका लागि सन् २०२१ एउटा सफल वर्ष प्रमाणित भएको हो ।

उत्तर कोरियाली ह्याकरहरूले मुख्यतया लगानी गर्ने कम्पनी तथा क्रिप्टोकरेन्सी किनबेच गर्न मध्यस्थता गरिदिने केन्द्रीकृत मञ्चलाई लक्ष्य बनाएका थिए। उत्तर कोरियाले आफू त्यस्ता आक्रमणमा संलग्न भएको भन्ने आरोपको बारम्बार खण्डन गर्ने गरेको छ। २०२० बाट २०२१ मा पुग्दा उत्तर कोरियासँग सम्बन्धित ह्याक आक्रमणको सङ्ख्या चारबाट बढेर सात भयो, अनि ती ह्याकबाट दोहन गरिएको डिजिटल मुद्राकोे मूल्य ४० प्रतिशतले बढ्यो, चेनएनलिसिसले एउटा प्रतिवदेनमा लेखेको छ ।

चेनएनलिसिसका अनुसार ह्याकरहरूले लक्षित संस्थाका हट वालेटबाट सम्पत्ति चोरेर उत्तर कोरियाको नियन्त्रणमा भएका स्थानमा पठाउन विभिन्न विधि प्रयोग गरेका थिए। त्यस्ता विधिमा फिशिङ, सफ्टवेअरको कमजोरी पत्ता लगाउने विशेष कोड र मालवेअर थिए। क्रिप्टोकरेन्सी हट वालेटहरू इन्टरनेट तथा क्रिप्टोकरेन्सी नेटवर्कसँग जोडिएका हुन्छन्। त्यसैले ती ह्याकिङमा पर्ने जोखिममा हुन्छन्।

क्रिप्टोकरेन्सी पठाउन र लिन ती वालेटको प्रयोग गरिन्छ। तिनले प्रयोगकर्तालाई आफूसँग कति वटा टोकन छन् भनेर देखाउँछन्। आफूलाई दैनिक आवश्यक नपर्ने हुँदा ठूलो परिमाणको क्रिप्टोकरेन्सी हटूवालेटको सट्टा कोल्ड वालेटमा राख्ने सल्लाह धेरै विज्ञले दिएका छन्। किनभने कोल्ड वालेटहरू बृहत्तर इन्टरनेटसँग जोडिएका हुँदैनन्।

चेनएनलिसिसका अनुसार गत वर्ष भएका आक्रमणमध्ये धेरैमा तथाकथित ल्याजरस ग्रूप को संलग्नता छ। अमेरिकाले प्रतिबन्ध लगाएको उक्त समूह उत्तर कोरियाको जासुसी संयन्त्रले सञ्चालन गर्ने ठानिएको छ।