समाचार

माओवादी घटक एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी घटक एक हुनुपर्ने बताएका छन् । जनयुद्ध लडेर आएको यो पार्टी भित्र चरम असन्तुष्टीका कारण अत्यधिक फुटको प्रवृत्ति रहेको छ । देशी–विदेशी प्रतिक्रियावादी शक्तिले जनताको बलिदानबाट प्राप्त परिवर्तनलाई उल्ट्याउन तथा परिवर्तनको नेतृत्व नेता र पार्टीलाई बदनाम गर्न अहिले पनि लागिरहेको भन्दै प्रचण्डले देशको अगाडि आइपरेको समस्या आत्मसात गरि माओवादी घटक एक हुनुपर्ने बताएका छन् ।


२७ औं जनयुद्ध दिवसको सन्दर्भमा उनले आइतबार शुभकामना सन्देश जारी गरि यस्तो बताएका हुन् । परिवर्तनका लागि लडेका शक्ति एक भए वर्तमान परिवर्तनलाई अझै सुदृढ र समृद्ध गर्न सकिने उनको विश्वास छ । उनले पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ता र शुभेच्छुकरशुभचिन्तक आम जनसमुदायलाई एकतावद्ध भएर सबै खाले प्रतिक्रियावादी षडयन्त्रलाई परास्त गर्न अगाडि बढ्न अपील समेत गरेका छन् ।

जनयुद्ध दिवसको मनाउनुको सबैभन्दा ठूलो अर्थ, महत्व र औचित्य परिवर्तनकारी क्रान्तिकारी शक्तिहरुबीचको एकता भएको विश्वाससहित उनले देशभित्र र बाहिर रहेका सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारीहरु र श्रमजीवि नेपाली जनसमुदायमा बधाई तथा शुभकामना व्यक्त गरेका हुन् ।