बिचार

'पिर' गीतको तिर उपर व्याख्यात्मक टिप्पणी (रामेश देखि सपूतसम्म )

सुपेन्द्र बस्नेत, बोष्टन

२०६१ साल फाल्गुन २९ गते शनिवारको साँझ स्मरण गर्दै विषय प्रवेशको ढोका खोल्न चाहन्छु।त्यति बेला म जिडब्लुपि/सेभ द चिल्ड्रेनमा आबध्द भइ कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुर जिल्लासम्म सञ्चालित कार्यक्रममा कार्यरत थिएँ। शाखा कार्यालयहरु कपिलबस्तु, दाङ, बाँके, कैलाली र कन्चनपुरमा थिए। र, ति सबैको मुख्य कार्यालय नेपालगञ्जमा थियो। जुन कार्यालय पहिला दाङको घोराहीमा थियो। तत्कालिन माओवादीले दाङ घोराही आक्रमण गरेपछि शाखा कार्यालय त्यही रहने गरी मुख्य कार्यालय नेपालगञ्ज सारिएको थियो।त्यतिबेला माओवादीको गतिविधिहरु निकै उत्कर्षमा पुगिरहेको थियो। खास गरी नेपालको पश्चिमी क्षेत्र निकै प्रभावित थिए। २०६१ साल फाल्गुन २९ साँझ ६ बजे म खाना खानका लागि नियमित खाना खाने होटलमा गएको थिएँ। ७ बजेदेखि कर्फ्यु लाग्ने भएकाले उज्यालैमा खाना खाएर वासस्थान पस्नु पर्ने बाध्यता थियो।होटल र बासस्थानको दुरी ५ मिनटको थियो।होटमा पुगेर हात मुख धोइ टेबुलमा बस्दै होटल साउजीलाई खानाको तयारीका लागि अनुरोध गरें । बेलुकाको छाक रोटी खाएर टार्ने बानी परेकाले होटल साउनीले पनि टेबलमा सलाद राखिदिएर रोटो पकाउन सुरु गर्नु भयो। यतिकैमा होटलको फोनको घण्टी बज्यो।र, साउजीले फोन उठाएर छोटो कुरा गर्नु भयो। म नजिक आएर आत्तिदै भन्नु भयो ”सर हजुरको फोन रहेछ। हस्पिटलबाट आएको।तुरुन्त जानु पर्यो रे ।” म त झसङ्ग भएँ। कसले फोन गरेको हो…? को बिरामी भएको हो …? अत्तोपत्तो भएन। थप बुझ्नका लागि फोन पनि कटि सकेको थियो।मैले अरु थप केही नसोची होटल अगाडिबाट रिक्सा चडेर अस्पतालतिर हानिएँ। यति बेला लगभग साँझको ६:३० भैसकेको थियो। रिक्साचालकलाई आफ्नो हतारो दर्शाएर सक्दो छिटो चलाउन अनुरो गरें।अस्पताल जादै गर्दा नेपालगञ्ज मेडिकल कलेज अगाडि के पुगेको थिएँ।चल्दै गरेको रिक्सामा एउटा बस्तु ड्र्याम्म ठोकिदै सडक पारी पुग्यो।रिक्सा चलाक रिक्साबाट हाम्फालेर कुलेलाम ठोक्यो। म रिक्सा संगसंगै लडिबुडी गर्दै सडकको पूर्वी किनारामा पछारिन पुगें।हत्तनपत्त उठेर कुलेलाम ठोकें। किनकी त्यहाँ ज्यान जोगाउने सवाल थियो। त्यतिबेला माओवादीहरुले मेरो पछाडि आउदै गरेको पुलिसको भ्यानलाई लक्षित गरेर ग्रिनेट प्रहार गरेका रहेछन्। समयको तालमेल नमिल्दा मेरो रिक्सामा ठोकिन पुगेको थियो। प्रहरीको भ्यान फुत्कियो। भाग्यले भनु या दिन नआइपुगेकाले भनु, मेरो रिक्सामा ठोकिएको उक्त ग्रिनेट पड्किएन। र, म बालबाल बाँचें।ज्यान जोगाएर हस्पिटल पुगेको म, ७ बजे पछि कर्फ्यु लाग्ने भएकाले बासस्थान फर्किन सकिन। आँखा वरिपरि घटनाका दृश्यहरु झल्किरहेका र मन भरी अनेक खाले डरत्रासको राँको दन्किरहेकाले, त्यो रात अस्पतालमै आँखा झिमिक्कै नपारी बिताएँ। भोली पल्ट २०६१ साल फाल्गुन ३० गते आइतवार धनगढी जानु थियो। कर्फ्यु खुलेपछि बासस्थान पुगेर झोला बोकी धनगढी शाखा कार्यालयले तय गरेको तालिम र सरोकारवालाहरुसंग हुने बैठकमा भाग लिन भारतको बाटो हुँदै धनगढी पुग्ने गरी रुपेडियातिर लागें। त्यति बेला सशस्त्र द्वन्द्वकारण कोहलपुर हुदै पश्चिम जाने बाटो अत्यन्त जोखिमयुक्त, कष्टकर र लामो समय लाग्ने भएकाले धनगढी , महेन्द्रनगर जानु पर्दा प्राय भारतकै बाटो मेरो पहिलो प्राथमिकतामा पर्ने गर्दथ्यो। त्यो घटनाको एक एक संझना अहिले पनि ताजै छ। यो त एक प्रतिनिधि घटना मात्र हो । पिर गीत सार्वजनिक भएकै समयमा परेकाले यसलाई संझेर प्रस्तुति गरेको हुँ ।त्यस्तो कयौं कहाली लाग्दा घटनाहरु भोग्नु परेको थियो सशस्त्र द्वन्द्व कालमा। अहिले संझदा आङ नै सिरिङ्ङ हुन्छ। साच्चै सशस्त्र द्वन्दमा होमिएकाहरु(राज्य पक्ष र विद्रोही पक्ष)को झन कति दर्दनाक र काहाली लाग्दा घटनाहरु होलान् भन्ने अनुमान लगाउन गाह्रो छैन।

तत्कालीन माओवादीले राज्य विरुध्द प्रारम्भ गरेको विद्रोहलाई १० वर्ष भित्र सशस्त्र द्वन्द्वको उच्चतम विन्दुसम्म पुर्याउन साँगितिक क्षेत्रको अहम भूमिका छ। खासमा नेपालका कम्युनिष्ट भन्नेहरुका लागि जनतालाई सचेत गराउने, आकर्षित गर्ने र विद्रोहमा होमिन तयार गराउने सशक्त र प्रभावकारी माध्यम बनेको थियो साँगितिक क्षेत्र । सशस्त्र विद्रोहका बेला गायक रामेश श्रेष्ठको रचना , संगीत र स्वर भरिएका क्रान्तिकारी गीत भनेर चिनिने बहुचर्चितहरु : गाँउ गाँउबाट उठ…, एक जुगमा एक दिन…, आऊ मिलाऊ हाम्रा हातहरू…, संघर्ष हो जीवन…, रोक्ने को हो दूरदर्शी विचारका धारा…, गाई त बाँध्यौं ढुंग्रोमा मोही छैन…जस्ता गीतहरु निकै महत्वका साथ चर्चामा रहे। जसको चर्चा अझै पनि ताजै र उस्तै छ। विद्रोहका लागि छेडिएको साँगितिक अभियानमा रामेशसंगै रायन, मञ्जुल, जेबी टुहुरे, जीवन शर्मा, माइला लामा, अमृत गुरुङ लगायतको योगदान पनि कम कदरयोग्य छैन। नेपाली गीत, संगीत र साहित्यमा पृथक पहिचान सहित महत्वपूर्ण योगदान पुर्याएका कारण रामेशलाई जनगायक(जनताको पिर लेख्ने, बोल्ने, गाउने, बुझ्ने र बुझाउने)को उपमाले सम्मान गर्ने गरिन्छ। उनका साँगीतिक शृजनाहरुले सोझा सिधा जनताका आधारभूत जल्दो बल्दो समस्याहरुसंग सम्बन्धित विषय वस्तुको उठान गर्ने, सूचना तथा जानकारी दिने, चेताना जगाउने, संगठित हुन उत्प्रेरित गर्ने, संगठित गराउने र लक्ष्य प्राप्तिका लागि आवश्यक सक्रियाता जगाउन सक्ने ल्याकत राख्दथ्यो।तिनै प्रभावशाली कलाकारहरु र परिवर्तनकामी गीतहरुको उत्प्रेरणाका कारण कैयौँ कलाकारहरु र गीत संगितहरु जन्मिए। र, जन्मिने क्रम पनि जारी नै छ। तिनीहरुकै पछिल्लो एक परिणाम हो प्रकाश सपूतको ‘पिर’ गीत पनि।

तत्कालीन नेकपा माओवादीको नेतृत्वमा भएको सशस्त्र विद्रोहलाई केन्द्रमा राखेर तयार पारिएको यो गीत, अहिले चर्चाको शिखरमा छ। मैले पनि समय जुराइ जुराइ झण्डै दर्जन बढी पटक यो गीत गम्भीर भएर सुनें/ हेरें। जसबाट आफ्नो अलि भिन्न बुझाइ हुन गएकाले ‘पिर गीतको तिर’ उपर व्याख्यात्मक टिप्पणी गर्ने इच्छा जाग्यो। पिर गीतको तिरको तिखोपन साच्चै सुन्न, हेर्न र मनन गर्न लायक छ। हुन त यस गीतलाई विवादास्पद भन्ने र बनाउनेहरुको पनि कमि छैन। तर, यो गीत विवादास्पद भन्दापनि विषय उठानका हिसाबले महत्वपूर्ण जनसरोकारको बहसको विषय भने पक्कै छ भन्ने लागेको छ। शृजनात्मक कला, गम्भीर विषयको उठान, वजसी शब्द चयन तथा समायोजन, निखारिएको अभिनय कला, मुटु दुखाउने आँखा रसाउने र भावनामा बगाउने दृश्य तथा सम्वादहरु यस गीतका आकर्षक तथा सबल पक्षहरु भएको मैले पाएँ। खासमा भन्नु पर्दा साँगितिक प्रस्तुतिका हिसाबले यो गीत दमदार र कदरयोग्य नै छ। विषय उठानको हिसावले अति नै संवेदनशील तथा महत्वपूर्ण र सूचना तथा जानकारीका हिसाबले अत्यन्त गम्भीर भएर सोच्दा टाउको समाउनु पर्ने, जिब्रो काट्नु पर्ने र लामो सास लिएर सुस्केरा हाल्दै भूईमा थचक्कै बस्नु पर्ने अवस्था छ। भने सन्देशका हिसाबले थकथक मान्नु पर्ने अवस्था छ। गीतको उठानमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समावेशी लगायतलाई सशस्त्र युद्धको ऐतिहासिक उपलब्धि मानेको छ।तर, तिनै उपलब्धिका योद्धाहरुलाई धोका दिने नेतृत्वहरुलाई भने गद्दार ठानेको छ। यदि माओवादीको सशस्त्र विद्रोह ‘जनविद्रोह’ थियो। त्यो जनविद्रोहले जन्माएको सशस्त्र द्वन्द्व, जनक्रान्ति तथा जनयुद्ध थियो। त्यो जनक्रान्ति तथा जनयुद्धको नेतृत्व कर्ता ‘जननेता’ थिए।र, त्यस युद्धमा संलग्न लडाकुहरु सच्चा क्रान्तिकारी योद्धा थिए भनेर भन्ने हो भने, त्यो कुरा गीतले पुष्टि गर्न सकेको देखिन्न। क्रान्तिबाट खारिएका योद्धाहरु (उनिहरुकै भनाइ अनुसार ) निरासावादी, पश्चागामी, समर्पणवादी वा विसर्जनवादी हुनै सक्दैनन्। सच्चा क्रान्तिकारी योद्धा त मृत्युको अन्तिम स्वास लिदासम्म पनि क्रान्ति सफल हुनेमा पूर्ण आशावादी हुदै अग्रगामी विगुल फुकिरहन्छन्।र, क्रान्तिको यात्राका दौरानमा चाहे वाह्य होस् या आन्तरिक बाधा अड्चन, चुनौती, विकृति, विसङ्गतिहरुलाई पन्छाउदै धोकेबाज, अवसरवादी, कुल द्रोही, राष्ट्रघाती, दलाल, देश द्रोही आदि इत्यादि बिरुद्ध उत्साहका साथ जीवन पर्यन्त लडिरहन्छन्। तर, सशस्त्र विद्रोहलाई समेटेर बनाइएको गीतको कथा अनुसार सशस्त्र विद्रोहमा होमिएका योद्धाहरु संघर्षबाट थाकेको, संघर्षबाट भागेको, परदेशिएको, देह व्यापारमा लागेको, पिर बिसाउने ठाँउ खोजिरहेको, दाम जुटाएर देह व्यापारी कहाँ पुगेको आदि कथा, दृश्य तथा सम्वादहरुले क्रान्तिकारी योद्धाको पहिचान, परिभाषा, निष्ठा, त्याग, समर्पण, निरन्तरता र भूमिका माथि नै निकै गम्भीर प्रश्न चिन्ह खडा गरिदिएको छ। सामाजिक र कानूनी हिसाबले साह्रै संवेदनशील र वर्जित देह व्यापारमा हुने खानेहरुको संलग्नतालाई ओझेलमा पारेर तिनै योद्धा मानिएका प्रताडित लडाकुहरुलाई नै कथामा समेटेर पस्किदा, त्यस सूचनाले दिएको सन्देशले समग्र लडाकुहरुलाई नै मुछिदिएको र असंलग्नहरुलाई थप पिडा बोध गराउन सक्ने सम्भावनालाई नकार्न सकिन्न। पस्किएका कथा, शब्द, संवाद, संगीत, दृश्य र अभिनयहरुमा भावनामा बगाउन सक्ने आकर्षक बेजोड शक्ति पक्कै छ। तब त भावनामा बग्नेहरुबाट प्रतिक्रियाहरु सोही अनुरुप आइरहेका छन्। जसले पिडित योद्धाहरुप्रति समानूभूति दर्शाउन उत्प्रेरित गर्नुको सट्टा, विना कन्जुस्याइँ सहानुभूति देखाउन सफल भएको छ। गीतमा बच्चाले ‘देश’ भनेको के हो भनि अमुल्य जिज्ञासा राख्दा, देश भक्त ठानिएको एउटा क्रान्तिकारी योद्धा नै अलमलमा परेको र पछि दिएको देशको परिभाषाले पनि क्रान्तिकारी योद्धाको देशप्रतिको बुझाइप्रति नै संशययुक्त प्रश्न खडा गरिदिएको छ। एकातिर देशमा बाँच्ने आधार नदेखेपछि विदेशिएकी श्रिमतिको बिचल्ली र स्वदेश फर्काइदिन सहयोगको याचना गर्दै गरेको दृश्य देख्दा देख्दै त्यस समस्यालाई बेवास्ता गरेको देखिन्छ भने, अर्कोतिर, भावनामा बगेर हेर्दा, एउटा क्रान्तिकारी योद्धा भनिएको व्यक्तित्वले तिनै बेइमान, धोकेबाज, क्रान्तिका बाधक, कूल द्रोही, देश द्रोही ठानिएकाहरुलाई नै देश सुम्पिएर, एक मुठी देशको माटो पोको पारी परदेश पलानको यात्रा गर्दै गरेको दृश्य साच्चै दर्दनाक, भावुक र मर्मस्पर्शी त छ नै। तर, सच्चा सपूत, क्रान्ति, अभिभारा र क्रान्तिकारी योद्धाको हिसाबले मनन गर्दा भने यो पक्कै पनि शोभनीय, कदरयोग्य, अनुकरणीय र उत्प्रेरक होइन। जसको भसोसा र आदेशमा क्रान्तिमा होमियो, उनिहरुबाटै धोका, अपहेलना, तिरस्कार र प्रताडित हुनु पर्दाको अवस्थाको पिडादायी चित्रण, साच्चै दर्दनाक छ नै। यदि त्यसका मतियारहरु क्रान्तिका ऐतिहासिक कलंक र दण्डको भागेदार हुन् भन्ने गीतको निश्कर्ष हो भने, उनीहरुलाई कठघरामा उभ्याएर यथोचित दण्ड दिन संगठित भइ नयाँ सिराबाट थप क्रान्ति थालिनु पर्ने सन्देश दिन कथा किन चुक्यो ? उनीहरुलाई देश निकाल गर्नतिर नलागी, आफै किन परदेशियो ?
आफ्नै कर्मलाई धिकार्दै थप संघर्ष र क्रान्ति नगर्ने निर्णयको विन्दुमा पुगेर आफैं देश छोडेर गएको दृश्यले विद्रोहको नेतृत्वकर्ताहरुको मान मर्दन हुने र उनीहरु विरुद्ध एक हुन आवाहन गरेको सन्देश कसरी दियो र खै ? यस अर्थमा, गीत उपर अनावश्यक खनिनु अर्थहीन छ। बरु उल्दै खेदो नखनेकोमा स्याबासी दिनु पर्ने थियो। मनन गर्न लायक अर्को महत्वपूर्ण कुरा के छ भने , गीतमा समेटिएको ‘आफ्नै बिचार बैरी भयो…” भन्ने वाक्यको भावले धोका दिने नेतृत्वहरुको प्रवृतिप्रति मात्र कटाक्ष गरेको छैन, परिवर्तनका लागि भनि गरिएको क्रान्तिको अभियान, दिशा निर्देश, लडाकुहरुको सैध्दान्तिक तथा व्यवहारिक ज्ञान, निष्ठा, त्याग तथा समर्पण र सशस्त्र द्वन्द्वप्रति नै संशय, असन्तुष्टि र विमति जनाउदै गहन ऐतिहासिक प्रश्न चिन्ह खडा गरिदिएको देखिन्छ। समग्रमा भन्नु पर्दा विषय उठान, सूचना प्रदान, शव्द रचना, संगित, कला, अभिनय,प्राविधिक, छायाङ्कन तथा सृजनाका दृष्टिकोणले कदरयोग्य नै छ गीत। त्यसका लागि भने छड्के सलाम छ। तर, समस्या समाधानका लागि सक्रिय सन्देश दिने सवालमा भने, विषय उठान र सूचना प्रदानको गाम्भीर्यताका आधारमा जे जति दमदार महत्वपूर्ण सन्देश दिन सकिन्थ्यो र दिनु पर्ने थियो, त्यसमा भने ‘पिर’ गीत चुकेकै हो। जसका कारण सशक्त हुन खोज्दा खोज्दै पनि अपुरो नै रहेको छ। प्रकाश सपूतसहित खारिएका अन्य कलाकारहरु र टिममा संलग्न अनुभवी व्यक्तिहरु हुदाँ हुदै पनि यस मामलामा ”हात्ती आयो, हात्ती आयो : फुस्सा” भने झै जानि नजानि चुक्नु दुर्भाग्य नै हो भन्ने व्याख्यात्मक ठम्याइ हो।