समाचार

आज ईदउल फित्र , देशभर सार्वजनिक बिदा

काठमाडौं । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिना (सौवाल) को पहिलो दिन आज विश्वभर मुस्लिम समुदायले विशेष नमाज पाठ र ठूलाबडाबाट आशीर्वाद थाप्दै ईदउल फित्र पर्व मनाउँदै छन् । आज नेपाल सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाकहाँ गएर आशीर्वाद थाप्ने प्रचलन रहेको छ । यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ। आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मीठा खानेकुरा खान दिने चलन छ।

खुसीपूर्वक दान गरेर दीनदुःखी एवं गरीबलाई बाँडिने भएकाले यो पर्वलाई ईदउल फित्र भनिएको हो। अरबी पात्रोअनुसार नवौँ महिनाको अन्तिम दिन चन्द्रमा देखिएपछि ईदउल फित्र मनाउने कार्यक्रम तय हुन्छ । नवौँ महिनाको अन्तिम दिन बिहीबार बेलुका चन्द्रमा देखिएपछि आज ईदउल फित्र मनाइएको हो। यो पर्वमा दीनदुःखी र गरिबलाई दान दिइन्छ । यस पर्वमा मुस्लिम धर्मावलम्बीले एक वर्षभित्रको बचतको साढे दुई प्रतिशत नगद वा जिन्सी दान गर्नुपर्ने विधान मुस्लिम धर्मग्रन्थ कुरानमा उल्लेख गरिएको छ ।