फिचर

चीनमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित

काठमाडौं । चीनको हाङ्चौमा हुने भनिएको एसियाली खेलकुद अनिश्चितकालका लागि स्थगित भएको छ । ।

एसियाली ओलम्पिक परिषद्ले आउँदो सेप्टेम्बर १० देखि २५ तारिखसम्मका लागि तय भएको १९औं एसियाली खेलकुद अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जनाएको हो ।

आयोजकले एसियाकै सबैभन्दा ठूलो खेल प्रतियोगिता स्थगितको स्पष्ट कारण खुलाएको छैन । तर चीनमा बढ्दो कोरोना संक्रमणका कारण प्रतियोगिता स्थगित गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

प्रतियोगिताको नयाँ मिति स्थानीय आयोजकसँग छलफल गरेर तय गरिने ओसिएले जनाएको छ।

यो प्रतियोगिताका लागि नेपालले पनि तयारी गरिरहेको थियो।

राष्ट्रिय खेलकुद परिषद्ले एसियाडमा समावेश ३७ मध्ये २३ खेलमा भाग लिने निर्णय थियो। यी खेलका लागि प्रारम्भिक खेलाडी छनोट समेत गरिएको थियो।

एथ्लेटिक्स, बक्सिङ, तेक्वान्दो, कराते, साइक्लिङ, महिला फुटबल, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, ट्रायथलन, उसु, आर्चरी, बास्केटबल, महिला कबड्डी, फेन्सिङ, महिला ह्यान्डबल, टेबल टेनिस, महिला भलिबल, पुरुष क्रिकेट, ब्याडमिन्टन, पौडी र सुटिङमा नेपालले भाग लिने निर्णय गरेको थियो।

पछिल्लो समय कोरोना महामारीसँग जुधिरहेको मुलुककै ठूलो सहर सांघाईनजिक नै पर्छ । ‘जिरो कोभिड’ को नीति अपनाएको चीनले सांघाईमा लामो समयदेखि लकडाउन गरेको छ ।