समाचार

कामीरिता २६ औं पटक सगरमाथा चुचुरोमा

काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २६ औं पटक सगरमाथाको आरोहण गरेका छन् । उनले गत वर्ष आफैले राखेको कीर्तिमान तोडेका छन् । उनी आइसफल डाक्टरको ११ सदस्यीय टोलीको नेतृत्व गर्दै शनिबार सगरमाथा शिखरमा पुगेका हुन् । आरोहणको व्यवस्थापन गरिरहेको सेभेन समिटले यसको पुष्टी गरेको छ ।

टोली शनिबारसाँझ ६ बजे चुचुरो पुगेको थियो । यो टोलीले आरोहणको सहजिकरणका लागि बाटो बनाउने र डोरी टाँग्ने काम पुरा गरेको छ । सोलुखुम्बुको थामेमा सन् १९७० मा जन्मेका कामी रिताको नाममा सन् २०१८ देखि सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेको कीर्तिमान कायम छ । उनले मे १६ २०१८ मा २२ औं पटक सगरमाथा आरोहण गर्दै आप्पा शेर्पाको कीर्तिमान तोडेका थिए ।

कामीरितासँगै सगरमाथा पुगेका अन्य आरोहीमा सोना शेर्पा, निग्मा तासी शेर्पा । फुर्वा छिरिङ शेर्पा, तेञ्जिङ ग्याल्जेन शेर्पा, लाक्पा तेन्जी शेर्पा छन् । यस्तै फुर्वा कुसाङ शेर्पा, मिग्मा दाण्डु शेर्पा, पासतेञ्जी शेर्पा, तारेमान तामाङ र फुर्वा छोतार पनि कामीरितासँगै सगरमाथा चुचुरोमा पुगेका छन् ।