अष्ट्रेलियाबाट लगानी भित्राउन सहजीकरण गर्न परिसंघद्धारा राजदूतसँग आग्रह
काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालको तुलनात्मक लाभका क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आकर्षित गर्नेतर्फ सहजीकरण गरिदिन नेपालका लागि अस्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कसँग आग्रह गरेको छ । नेपालमा हरित ऊर्जा, खनिजजन्य उद्योग, सूचना प्रविधि र कृषि प्रशोधनसँग सम्बन्धित व्यवसायहरुमा उच्च प्रतिफलको सम्भावना रहेकाले त्यस्ता क्षेत्रमा अस्ट्रेलियाका लगानीकर्ता आउनेगरी सहजीकरण गर्न परिसंघले आग्रह गरेको हो ।
कार्यक्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा उत्पादन वृद्धिका लागि लगानी अभाव भएको भन्दै त्यसका लागि विदेशी लगानी आवश्यक रहेको उल्लेख गरे । ‘नेपालमा स्वास्थ्य र शिक्षामा लगानीका अवसरहरू छन्,’ उनले भने । उनले नेपाल र अस्ट्रेलियाबीचको मैत्रिपूर्ण सम्बन्धलाई झनै बलियो बनाउनका लागि संस्थागत रूपमा व्यावसायिक क्षेत्रहरूको पहिचान र पहलमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा राजदूत भोल्कले नेपालमा सहयोग र सहकार्य विस्तारका लागि आफूले पहल गर्ने बताइन् । उनले अष्ट्रेलियाका लगानीकर्ताले छिमेकी देशका परियोजनाहरूमा काम गरिरहेको भन्दै भावी दिनमा त्यस्ता कार्यक्रम नेपालमा विस्तार गर्न पहल गर्ने पनि उल्लेख गरिन् ।