फिचर

नेपालमा उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता

काठमाडौं । नेपालको उर्जा क्षेत्रमा जापानले सहयोग बढाउने प्रतिवद्धता व्यक्त गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच भेटवार्ता भएको छ । मन्त्रालयमा भएको भेटवार्ताका क्रममा राजदूत किकुताले मन्त्री भुसाललाई जापानमा अप्रिल २३ र २४ तारिखमा भएको एसिया प्यासिफिक जल सम्मेलनमा भिडियो सन्देशमार्फत सहभागिता जनाएकोमा धन्यवाद ज्ञापन गरे ।

त्यस्तै किकुताले कुलेखानी जलविद्युतजस्ता आयोजनामा जापानको सहयोग रहेको स्मरण गर्दै नेपालको ऊर्जा क्षेत्र विकासका लागि थप सहयोग गर्ने प्रतिबद्धता जनाए । नेपालको दिगो विकास तथा आर्थिक वृद्धि स्तरोन्नतिका लागि जापानले आफ्नो नीतिमा पुनर्विचार गरेको उनले बताए । जापानले नेपालको ऊर्जा, मानव संशाधन विकास र विपत्ती तथा गरिबी न्यूनीकरणमा गर्ने सहयोगलाई निरन्तरता दिने उनले प्रतिबद्धता जनाए ।