समाचार

भारतीय प्रधानमन्त्री आज लुम्बिनी आउँदै, समकक्षी देउवाले स्वागत गर्ने

भैरहवा । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीको भ्रमणमा आउँदैछन् । परराष्ट्र मन्त्रालयका अनुसार लुम्बिनी भ्रमणका क्रममा प्रधानमन्त्री देउवा र भारतका प्रधानमन्त्री मोदीका संयुक्त कार्यक्रम र भेटवार्ता तय भएकोछ । भारतीय समकक्षीको स्वागत गर्न प्रधानमन्त्री देउवा आइतबार नै लुम्बिनी पुगेका छन् ।

२५६६औँ बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसर पारेर भारतका प्रधानमन्त्री मोदी नेपालको औपचारिक भ्रमणमा आउन लागेका हुन् । देउवा आफैँ समकक्षीको स्वागतमा जानेछन् । दुई देशबीच केही राष्ट्रिय महत्वका विषयमा सहमति र समझदारीको तयारी भएको छ । प्रधानमन्त्रीका साथ परराष्ट्रमन्त्री डा. नारायण खड्का, गृहमन्त्री बालकृष्ण खाँड, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले समेत लुम्बिनीमा छन् ।

भारतका प्रधानमन्त्री मोदीले सोमबार करिब ६ घण्टा लुम्बिनीमा रहनेछन् । लुम्बिनीस्थित पाँच हजार दर्शकको क्षमता भएको बौद्ध सम्मेलन केन्द्रको सभाहलमा दुई देशका प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । लुम्बिनीमा विशेष हेलिकप्टरबाट बिहान १०ः३० बजे उनी उत्रने कार्यक्रम छ । उनले लुम्बनीमा पूजा गर्ने छत् ।