समाचार

आज २५६६ औं बुद्ध जयन्ती, लुम्बिनीसहित संसारभर मनाइंदैछ

BBC

काठमाडौं । आज २५६६औँ बुद्ध जयन्ती विविध कार्यक्रम आयोजना विश्वभर मनाइँदै छ । नेपालमा भगवान गौतमबुद्धको जन्मस्थान लुम्बिनीमा विशेष कार्यक्रमको आयोजना गरिएको छ । जहाँ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी हुनेछन् । बुद्ध जयन्तीमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका कालजयी उपदेश र मार्गदर्शनलाई आत्मसात् गरी बृहत् राष्ट्रिय एकता निर्माण गर्ने बाटोमा लाग्न सबैलाई आग्रह गरेकी छन् ।

उनले बुद्धका उपदेशको पालना गरेर हरेक व्यक्ति, समाज र विश्व समुदायका बीचमा शान्ति, सहअस्तित्व, सहिष्णुता र पारस्परिक सम्मान थप सुदृढ गर्दै लैजान सकिने बताएकी हुन् । राष्ट्रपति भण्डारीले समकालीन विश्वमा गौतम बुद्धद्वारा प्रतिपादित शान्ति र अहिंसासम्बन्धी दर्शनको सान्दर्भिकता अझ बढ्दै गएको कुरा उल्लेख गरेकी छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्धले दिनुभएको शिक्षा र सन्देशलाई व्यावहारिक जीवनमा उतारी जीवनलाई सुखमय र शान्तिमय बनाउनुपर्ने बताउएका छन् । उनले बुद्धका उपदेशको पालना गरेर समाजलाई समुन्नत बनाउनेतर्फ लाग्न सबैलाई आग्रह गरेका छन् । प्रधानमन्त्री देउवाले बुद्धका उपदेश अहिले पनि मानव जातिका लागि उत्तिकै सान्दर्भिक, उपयोगी र शाश्वत भएकाले मानव जीवनलाई उत्कृष्ट बनाउन बुद्धका अर्ति उपदेशलाई व्यवहारमा उतार्न जरुरी भएको कुरा सन्देशमा उल्लेख गरेका छन् ।