विश्व

नाटकीय जितपछि म्यान सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

Photo by AS English

म्यान्चेस्टर । खेलको ७६ औं मिनेटसम्म पछाडी रहेको अवस्थामा नाटकीय जित निकाल्दै म्यान्चेस्टर सिटीले यस सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ। सिजनको अन्तिम खेलमा एस्टन भिल्लामाथि ३–२ गोलको रोमाञ्चक जित निकाल्दा सिटीले नसोजेको नतिजा देखायो । खेलमा सिटी २्–० गोलले पछि थियो । यस अवस्थामा खेल लिभरपुलको पक्षमा जाने सम्भावना थियो । तर, सिटीले उत्कृष्ट पुनरागमन गर्दै उपाधीमाथि कब्जा जमायो । सिटीका लागि गुन्डोआनले ७६ मिनेटमा पहिलो गोल गरे । रोद्रीले ७८ मिनेटमा बराबरी गोल फर्काए । ८१ मिनेटमा गुन्डोआनले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै निर्णायक रुपमा उपाधी जिताए ।

लिभरपुल पनि वुल्भ्ससँगको खेलमा पछि परेको अवस्थामा पुनरागमन गर्दै दोस्रो स्थानमा रह्यो । वुल्भ्सका नेटोले तेस्रो मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए । लिभरपुलका लागि मानेले २४ मिनेट र सलाहले ८४ मिनेटमा गोल गरे। रोबर्टसनले ८९ मिनेटमा तेस्रो गोल गर्दै जित सुनिश्चित गरे । उपाधि जित्न लिभरपुल आफूले जित निकालेर मात्र पुग्दैन थियो, सिटीले बराबरी वा हार बेहोर्नु पर्ने थियो। अन्तिम खेलसँगै सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोड्न सक्यो । सिटीले पछिल्लो दश वर्षमा छैटौं पटक प्रिमियर लिगको उपाधि जितेको हो । लिगमा चेल्सी ७४ अंक जोड्दै तेस्रो र टोटेनहम ७१ अंकसहित चौथो स्थानमा रह्यो ।