विश्व

इरानमा कडा सुरक्षाका बीच कर्णेलको हत्या, अमेरिकाको हात रहेको आरोप

तेहरान । कडा सुरक्षाका बीच निकै शक्तिशाली मानिने इरानको रेभलूशनरी गार्ड्सका एक कर्णेलको राजधानी तेहरानमा हत्या भएको छ । बीबीसीका अनुसार मोटरसाइकलमा सवार दुई व्यक्तिले आफ्नो निवासअगाडि कारमा रहेका सय्यद खोदाइमाथि पाँच पटक गोली प्रहार गरेको थिए । हत्याको हालसम्म कुनै पनि समूहले जिम्मेवारी लिएको छैन। इरानले भने अमेरिका र उसका साझेदार राष्ट्रहरूले हत्या गरेको आरोप लगाएको छ।

आइतवार भएको उक्त घटनामा संलग्न भएकाहरूको खोजी भइरहेको छ। बीबीसीका मध्यपूर्वी क्षेत्रीय सम्पादकका अनुसार यो सन् २०२० मा इरानमा एकजना वरिष्ठ परमाणु ऊर्जा वैज्ञानिकको हत्यापछि भएको सबैभन्दा ठूलो सुरक्षा त्रुटि हो। घटनास्थलका तस्बिरमा रगताम्य व्यक्ति सिटबेल्टसहित कारमा रहेको देखिन्छ। कर्णेल खोदाइ रेभलूशनरी गार्ड्स अन्तर्गत गोप्य रूपमा काम गर्ने सैन्य निकाय कूड्स फोर्सका वरिष्ठ सदस्य थिए। अमेरिकाले उक्त सैन्य बलले आतङ्कवादी समूहलाई समर्थन गरेको र मध्यपूर्वमा भएका आक्रमणमा उसको हात रहेको आरोप लगाउँदै आएको छ।

पछिल्ला वर्षहरूमा मारिने कूड्स फोर्सका खोदाइ दोस्रो वरिष्ठ अधिकारी हुन्। सन् २०२० मा इरानका सबैभन्दा शक्तिशाली कमान्डर कासिम सुलेमानी अमेरिकी हवाई हमलामा मारिएका थिए। सन् २०२० मै परमाणु ऊर्जासम्बन्धी वरिष्ठ वैज्ञानिकको समेत तेहरानमा गोली हानेर हत्या गरिएको थियो। इरानका लागि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उनी सधैँ सुरक्षाकर्मीहरूसँगै हुन्थे।इरानका सञ्चारमाध्यमहरूले स्रोतलाई उद्धृत गर्दै उनी विश्वभरि इरानले गरेका कैयौँ आक्रमणका लागि जिम्मेवार रहेको जनाएका छन्।