समाचार

अब ललितपुरका चोक-चोकमा साइकल, भाडा तिरेर चलाउन पाइने

Photo : The Kathmandu Post

ललितपुर । ललितपुर महानगरपालिकाले अब महानगरभित्र ‘सेयर्ड बाइस्कल स्किम’ सुरु गर्ने घोषणा गरेको छ । साइकल लेनको प्रयोग बढाउने र आफ्नै साइकल नहुनेलाई साइकल प्रयोग सक्ने वातावरण बनाउन ललितपुरले साइकल स्ट्यान्ड बनाएर ठाउँ(ठाउँमा भाडामा साइकल राख्न लागेको हो । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनका अनुसार अब चोकचोकमा स्ट्यान्ड बनाएर प्रविधिको प्रयोगबाट भाडा तिर्न सकिने गरी साइकल भाडमा लिने व्यवस्था गर्न लागिएको छ ।

महानगरका प्रवक्ता राजु महर्जनका अनुसार नगरका विभिन्न महत्वपूर्ण चोकहरुमा अब साइकल स्ट्यान्डहरू बनाइनेछ । जहाँ भाडामा लिन सकिने गरी साइकलहरु राखिने छ । विद्युतीय भुक्तानी गरेर साइकल प्रयोगको अनुमति लिन सकिने छ । साइकलको ‘जीपएएस’ ट्रयाकिङ हुनेछ । प्रयोगकर्ताले एउटा स्ट्यान्डबाट अर्को स्ट्यान्डमा लगेर साइकल ‘लक’ गरेर छोड्न सक्नेछन् । यो सेवाका लागि एक व्यवसायिक संस्थासँग सम्झौता हुन लागेको महानगरपालिकाले जानकारी गराएको हो ।