फिचर

विश्वकपलाई लक्षित गरी नेपालले मौसमी कामदार कतार पठाउने

काठमाडौं । सरकारले कतारमा सञ्चालन हुने विश्वकप फुटबल प्रतियोगितालाई लक्षित गरी मौसमी श्रमिक लैजान अनुमति प्रदान गरेको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रतियोगिता अवधिभर कतारका विभिन्न कम्पनीले छोटो अवधिका लागि नेपाली श्रमिक लिन चाहेकाले अनुमति दिएको हो । कतारमा सन् २०२२ को नोभेम्बर २१ (मङ्सिर ५ गते)देखि विश्वकप फुटबल प्रतियोगिता सञ्१चालन हुँदैछ । मन्त्रालयले सोमबार कतारमा रहेको नेपाली दूतावासलाई पत्राचार गर्दै नेपालबाट मौसमी श्रमिक सबै प्रक्रिया पूरा गरेर पठाउने निर्णयसमेत गरेको पत्रमार्फत जानकारी गराएको छ ।

विश्वकप फुटबल प्रतियोगिताका लागि १२ हजार आप्रवासी श्रमिकको माग गरेको र त्यसमा नेपाली श्रमिक पनि लैजानका लागि कतारका विभिन्न कम्पनीले कतारमा रहेको नेपाली दूतावासमा चासो राखेको थियो । सोही विषयलाई लिएर कतारमा रहेको नेपाली दूतावासले श्रम मन्त्रालयमा पत्र लेखेको थियो । श्रम मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्ने गरी शून्य लागतमा छोटो अवधिका लागि श्रमिक लैजान अनुमति दिने निर्णय गरेको जनाएको छ ।

मन्त्रालयका अनुसार यसरी जाने श्रमिकले श्रम स्वीकृति लिएर नै जान पाउनेछन् । लागत खर्च सम्पूर्ण रोजगारदाताले नै बेहोर्ने छन् । श्रमिकले एक रुपियाँ पनि पैसा तिर्न पर्दैन । मन्त्रालयले दुईतर्फी हवाई टिकटसहित भर्ना प्रक्रियामा लाग्ने सम्पूर्ण खर्चसमेत रोजगारदाताले नै बेहोर्नुपर्ने निर्णय गरेको छ । त्यसरी जाने श्रमिकले कतारमा काम गर्ने अवधि छ महिनाभन्दा कम समयको हुनेछ । म्यानपावर कम्पनीबाहेक व्यक्तिगत रूपमा यसरी छोटो समयको रोजगारीका लागि जान खोज्नेले भिसा ल्याएर श्रम स्वीकृति लिन आएमा पनि श्रम स्वीकृति प्रदान गर्ने मन्त्रालयले जनाएको छ ।