फिचर

उच्च अमरिकी अधिकारीको आकस्मिक नेपाल भ्रमणले राजनीतिक वृत्तमा संशय

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लू दुई दिने भ्रमणका सिलसिलामा आज काठमाडौं अवतरण गर्दैछन् । यसबारे परराष्ट्र मन्त्रालयले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । नेपालमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्र मन्त्री नारायण खड्का लगायतलाई भेट्ने छन् । नेपालले अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने निर्णय गरेको छ । यसबीचमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण समेत रोकिएको छ ।

यस अवस्थामा आकस्मिक रुपमा हुन लागेको अमेरिकी उच्च अधिकारीको यो आगमनले राजनीतिक वृत्तमा भने संशय सिर्जना गरेको छ । डोनाल्ड लुले यसअघि नेपालबाट एमसीसी पारित गराउन भूमिका खेलेका थिए । त्यसैले अहिले हुन लागेको उनको भ्रमणलाई चासोका साथ हेरिएको छ । उनी समसामयिक विश्व मामिला, एमसीसीसहित नेपाल–अमेरिका सम्बन्धका विषयमा छलफल गर्न २०७८ मंसिर १ गते नेपाल आएका थिए ।

साथै गत माघ २७ गते उनले प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग टेलिफोन सम्वादसमेत गरेका थिए । उक्त सम्वादमा लुले एमसीसी अनुमोदन नगरे राम्रो नहुने भन्ने शैलीमा धम्कीपूर्ण अभिव्यक्ति दिएको समाचार सार्वजनिक भएका थिए । त्यसप्रति छिमेकी मुलुक चीनले अमेरिकाको ‘जबरजस्ती कूटनीति’ भन्दै आलोचना गरेको थियो ।