विश्व

अमेरिकी सभामुख फिर्ता भएसँगै चीनद्धारा ताइवानको सीमानामा सैन्य अभ्यासको घोषणा

File

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवानबाट फर्किएसँगै चीनले प्रतिक्रिया देखाउन थालेको छ । बीबीसीका अनुसार उनको भ्रमणप्रति प्रतिक्रिया स्वरूप चीनले ताइवानबाट १६ किलोमिटर मात्र टाढा रहेको समुद्र वरपर सैन्य अभ्यास घोषणा गरेको छ। बिहीवारदेखि सुरु हुने पाँच दिन लामो अभ्यास विश्वका केही व्यस्त जलमार्गहरूमा समेत हुनेछन्। त्यसमा लामो दूरीको प्रत्यक्ष गोलाबारीू समेत हुनेछ। २५ वर्षमा ताइवान भ्रमण गरेकी सबैभन्दा वरिष्ठ अमेरिकी राजनीतिज्ञ पलोसीले राजधानी ताइपेईमा नेताहरूसँग भेटवार्ता गरेकी थिइन्।

बृहत् एसियाली भ्रमणको अंश ठानिएको यस भ्रमणलाई लिएर बेइजिङ भने क्रुद्ध छ। किनकि उसले यस टापु राष्ट्रमा भ्रमणविरुद्ध दिएको चेतावनीको पलोसीले बेवास्ता गरिन्। ताइवान एउटा स्वशासित टापु हो तर चीनले उसमाथि दाबी गर्दै आएको छ र बिस्तारै यो आफूमा गाभिने विश्वास गर्छ। बुधवार जारी विज्ञप्तिमा चीनका विदेशमन्त्री वाङ यीले भनेका छन्, ‘आगोसँग खेल्नेहरूको अन्त्य सुखद हुने छैन र चीनको अपमान गर्नेहरूले सजाय भोग्ने छन्।’

‘संयुक्त राज्य अमेरिकाले तथाकथित लोकतन्त्रको आडमा चीनको सार्वभौमसत्ताको उल्लङ्घन गरिरहेको छ,’ थप भनिएको छ। अमेरिकी संसद्को सभामुख रहेकी पलोसी अमेरिकी राष्ट्रपति जो बाइडन र उप-राष्ट्रपति कमला ह्यारिसपछि तेस्रो बरीयताकी व्यक्ति हुन्।