समाचार

चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?

काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण पुरा गरेर फर्किएलगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ। पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ।

बीबीसीका अनुसार भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। अभ्यासहरू व्यस्त जलमार्गहरूमा हुने भएकाले यसमा लामो दूरीका प्रत्यक्ष गोलाबारी समावेश हुने बेइजिङले बताएको छ। संयुक्त राज्य अमेरिकाले यो सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ। ताइवानले भने यसलाई समुद्री तथा हवाई नाकाबन्दीको रूपमा व्याख्या गरेको छ।

ताइवानले बुधवार चिनियाँ लडाकु विमानहरूलाई चेतावनी दिनका लागि विमानहरूको आकस्मिक अवतरण गराएको र त्यहाँको सेनाले मुख्य भूमि नजिकै अवस्थित किनमेन टापुमा रहेका अज्ञात विमानहरू धपाएको बताएको छ। ताइवान सरकारका अनुसार पछिल्ला दिनहरूमा त्यहाँका थुप्रै मन्त्रालयहरूले साइबर हमलाको सामना गरेका छन्।

ताइवानका अधिकारीहरूले विमानहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ तथा छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताइएको छ। जापानले सैन्य अभ्यास भइरहेका क्षेत्रहरूमा आफ्नो विशेष आर्थिक क्षेत्र (ईईजेड) समावेश हुनेबारे चीन समक्ष चिन्ता व्यक्त गरेको छ। बुधवार चीनले तटीय झेजियाङ प्रान्तमा एक सन्दिग्ध ताइवानी पृथकतावादीलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आशङ्कामा हिरासतमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।