फिचर

विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने

काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा नगएका कारण आफ्नो निर्वाचन क्षेत्रमा पुग्न नसक्ने आम नेपालीले जहाँ भए पनि भोट हाल्न पाउने छैनन् ।

तर, अस्थायी मतदाताको रुपमा कर्मचारी, सुरक्षाकर्मीहरुले भने समानुपातिक प्रणालीमा मात्र भोट दिन सक्ने छन् । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न आदेश दिएको थियो ।

अस्थायी मतदाता नामावलीमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र आयोगले तोकेका अन्य व्यक्ति रहने उल्लेख छ ।

यसअघि गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रम र कैदीबन्दीले मतदाना गर्न पाएका थिएनन्। तर, मङ्सिर ४ गते सर्वोच्चको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्ने तयारी गरिएको छ ।