फिचर

नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा,सुरुङ खन्ने काम ६० प्रतिशत पूरा

काठमाडौं । राष्ट्रिय गौरव आयोजना नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । हालसम्म सुरुङ खन्ने काम झन्डै दुई तिहाई सम्पन्न हुन लागेको हो ।

नागढुंगा-नौबिसे सुरुङमार्ग आयोजनाका अनुसार साउन २२ गतेसम्म सुरुङ खन्ने काम ६० प्रतिशत पूरा भएको छ । हालसम्म ३ हजार २७६ मिटर सुरुङ खन्ने काम पूरा भएको हो ।

कोभिडकालमा समेत निरन्तर काम हुँदै आयोजनाको कुल ५ हजार ४९९ मिटरमध्ये हालसम्म ३ हजार २७२ मिटर सुरुङ खन्ने काम पूरा गरेको हो ।

आयोजनका अनुसार मुख्य सुरुङ अन्तर्गत २ हजार ६८८ मिटर मुख्य मध्ये हालसम्म १ हजार ४७५ मिटर खनिसकिएको छ । आयोजनाको काठमाडौंतर्फ ७७० मिटर र धादिङतर्फ ७०५ मिटर मुख्य टनेल खनिएको छ ।

त्यसैगरी, आपतकालीन (स्केप टनेल) सुरुङ अन्तर्गत हालसम्म १ हजार ६१३ मिटर सुरुङ खनिसकिएको छ । काठमाडौंतर्फ ९२१ मिटर र धादिङतर्फ ६९२ मिटर सुरुङ खन्ने काम पूरा भएको आयोजनाले जनाएको छ ।

त्यस्तै, धादिङतर्फ १२६ मिटर वर्किङ अडिट निर्माण भएको छ । हालसम्म ६२ मिटर क्रस प्यासेज निर्माण भएको छ । जसमा काठमाडौंतर्फ ३२ मिटर र धादिङतर्फ ३० मिटर निर्माण गरिएको छ ।

हालसम्म आयोजनाको समग्रमा ४१ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । त्यस्तै, वित्तीयतर्फ४७ प्रतिशत प्रगति भएको छ ।

आयोजना अन्तर्ग कुल ५ हजार ४९९ मिटर टनेल खन्नु पर्नेमा अझै २ हजार २२३ मिटर सुरुङ खन्न बाँकी रहेको छ । सुरुङको हरेक ३०० मिटरमा मेन टनेल र स्केप टनेल जोड्ने क्रस प्यासेज बनाइएको छ । सुरुङमार्गभित्र हरेक ३०० मिटरमा ७ वटासम्म क्रस प्यासेज बनाइने छ ।

नेपालकै पहिलो सुरुङमार्गको रुपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।

नागढुंगा सुरुङमार्गको निर्माण अवधि २०७९ चैत २३ गतेसम्म रहेको छ । कोभिडका कारणले ढिलाइ हुन गएकोमा थप ८६ दिन म्याद थप गरिएको छ । उक्त समय अनुसार नागढुंगा सुरुङमार्गको कुल निर्माण सम्पन्न हुन अब करिब ११ महिना बाँकी रहेको नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले जनाएको छ ।