विश्व

नयाँ सिजनअघि बार्सिलोनाको उत्कृष्ट प्रदर्शन, जित्यो जोन गाम्पर उपाधी

काठमाडौं । नयाँ सिजन शुरु हुनु अगाडी बार्सिलोना उत्कृष्ट लयमा देखिएको छ । आइतबार राती क्लवले मेक्सिकन क्लब पुमास यूएनएएमलाई आधा दर्जन गोल अन्तरले हराउँदै जोन गाम्परको उपाधि जितेको छ । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा बार्सिलोनाले ६–० को जित निकालेको हो। बार्सिलोनाका लागि पेड्रीले दुई गोल गरे। रोबर्ट लेवान्डोस्की, औसमाने डेम्बेले, पिएरे औबामेयाङ र फ्रान्की डी योङले एक एक गोल गरे। बार्सिलोनाले पहिलो २० मिनेटमै चार गोल गरेको थियो।


खेलको तेस्रो मिनेटमा नै लेवान्डोस्कीको गोलबाट बार्सिलोनाले सुरूआती अग्रता लिएको थियो। त्यसको दुई मिनेट पछि पेड्रीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे। १०औं मिनेटमा डेम्वेलेले गोल गरेपछि बार्सिलोना खेलमा पहिलो १० मिनेट भित्रै ३–० ले अघि बढ्यो । १९ औं मिनेटमा पेड्रीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि बार्सिलोना पहिलो हाफमा ४–० अग्रता लियो।

४९औं मिनेटमा औवामियाङले गोल गर्दै अग्रता अझै फराकिलो पारे। ८४ औं मिनेटमा फ्रान्की डि जोङले गोल गर्दै बार्सिलोनालाई ६–० को सानदार जित दिलाए। बार्सिलोनाले नयाँ सिजनको ला लिगा खेल्नुअघि हरेक वर्ष जोन ग्याम्पर कप आयोजना गर्ने गर्दछ। हालसम्म ५७ पटक यो कपको आयोजना हुदा बार्सिलोनाले सर्वाधिक ४५ पटक यो उपाधि जितेको छ। गत वर्ष बार्सिलोनाले युभेन्ट्सलाई हराएर उपाधि जितेको थियो।