विश्व

चीनले ताइवान वरपर थप सैन्य अभ्यास गर्ने

काठमाडौं । चिनियाँ सेनाले ताइवान वरपर ठूलो सैन्य अभ्यास जारी राख्ने भएको छ । यसअघि आइतवार चीनले वास्तविक गोलीगठ्ठाहरू प्रयोग भएका पाँच अभ्यास अन्त्य भएको जनाएको थियो। चिनियाँ सेनाको ईस्टर्न थिएटर कमान्डका अनुसार अब उनीहरूले पनडुब्बी हमला र समुद्रमा छापा मार्ने कामको अभ्यास गर्नेछन्। यसअघि चार दिने अभ्यास अमेरिकी सभामुख न्यान्सी पलोसीको ताइपेई भ्रमणलाई लिएर बेइजिङको असन्तुष्टिका रूपमा हेरिएका थिए। ताइवानले ती अभ्यास चीनले आफ्नो टापुमा अतिक्रमण गर्ने तयारीका रूपमा गरेको आरोप लगाएको छ।

बीबीसीका अनुसार यी अभ्यासमा हालसम्म चिनियाँ विमान र पानीजहाजहरू ताइवानी जलक्षेत्रमा प्रवेश गरेका छैनन्। अमेरिकासहित अस्ट्रेलिया र जापानले सैन्य अभ्यासको निन्दा गर्दै त्यसको उद्देश्य ताइवान स्ट्रेटमा यथास्थिति परिवर्तन गर्नु रहेको बताएका छन्। ताइवान स्ट्रेट ताइवान टापु र मुख्यभूमि चीनबीचको १८० किलोमिटरमा फैलिएको जलक्षेत्र हो। यस अभ्यासका क्रममा चिनियाँ विमान र पानीजहाजहरूले बारम्बार स्ट्रेटको विद्यमान मध्यवर्ती रेखा पार गरेका थिए।

तर ताइवानको रक्षा मन्त्रालयले सोमवार विद्यमान मध्यवर्ती रेखा सन् १९५० को दशकयता व्यवहारिक रूपमा अस्तित्वमा रहेको र त्यो तथ्य भएको जनाएको छ। वासिङ्टनले बेइजिङको निन्दा गर्दै पलोसीको भ्रमणलाई लिएर चीनले जलवायु परिवर्तन सहितका कैयौँ विषयमा सहकार्य तोडेको आरोप लगाएको छ। चीनले ताइवानलाई आफूबाट छुट्टिएको एउटा प्रान्त ठान्दै त्यो अन्ततः बेइजिङको नियन्त्रणमा आउने बताउने गरेको छ। यद्यपि ताइवानलाई मान्यता दिने खालका कुनै पनि सङ्केतले चीनलाई क्रुद्ध पार्ने गर्छ।

चिनियाँ जल अधिकारीहरूले अन्य क्षेत्रमा समेत सैन्य अभ्यास हुने बताएसँगै ताइवान वरपरका नयाँ गतिविधिबारे विवरण आएको हो। चीन र कोरियाली प्रायद्वीप बीचमा पर्ने यल्लो सीमा नयाँ सैन्य अभ्यास दैनिक रूपमा अगस्टको मध्यसम्म हुनेछ। पाँच त्यस्ता अभ्यासमा वास्तविक गोलीगठ्ठाहरू प्रयोग हुनेछन्। त्यसबाहेक चीनको पूर्वी तटतर्फको बोहाई सागरमा आइतवारबाट एक महिना लामो कारबाही सुरु भएको छ। यल्लो सीको उत्तरी भागमा एक महिना लामो अर्को सैन्य अभ्यास शनिवार सुरु भएको छ।