फिचर

ट्रम्पको घरमा थुप्रै 'अतिगोप्य कागजात' भेटिएको एफबीआईको खुलासा

न्यूयोर्क\बीबीसी । अमेरिकाको सङ्घीय जाँच ब्यूरो एफबीआईले न्यायमा गरिएको अवरोधको प्रमाण खोज्ने उद्देश्यले भूतपूर्व राष्ट्रपति डोनल्ड ट्रम्पको फ्लोरिडास्थित घरमा छापा मारिएको एक न्यायाधीशलाई बताएको खुलासा भएको छ । हालै सार्वजनिक अदालतका कागजपत्रहरूमा यसबारे उल्लेख गरिएको छ। अनुसन्धानकर्ताहरूका अनुसार अतिगोप्य फाइलहरू ट्रम्पको मारा लागो निवासमा विभिन्न पत्रपत्रिकाहरूसँगै राखिएका थिए।

न्याय मन्त्रालयले आफूले ूउल्लेख्य सङ्ख्यामा रहेका सर्वसाधारण साक्षीलाई जोगाउन मुचुल्कामा सेन्सर गरेको जनाएको छ। ट्रम्पले अनुसन्धानको नेतृत्व राजनीतिक अनुचर र ठगहरूले गरेको आरोप लगाएका छन्। अमेरिकी न्याय मन्त्रालयले अगस्ट ८ मा ट्रम्पको मारा लागो निवासमा एफबीआईले गरेको खोजतलासको औचित्य पुष्टि गर्न प्रयोग गरिएको मुचुल्काको एउटा संस्करण जारी गरेको छ। यद्यपि त्यसमा व्यापक सम्पादन गरिएको छ।

फ्लोरिडाको वेस्ट पाम बीच इस्टेटमा छापा मार्नुअघि अदालतमा कागजपत्र पेस गरिएको थियो। न्याय मन्त्रालयका अनुसार ती कागजपत्रहरू एउटा गल्फ क्लबबाट बरामद भएका थिए। उसका अनुसार ती ११ थान गोप्य कागजपत्रमा नयाँ विस्तृत विवरण छैन। मुचुल्का बनाउने एफबीआईका एक अधिकारीले आफूहरूसँग प्रमाण, तस्करी, अपराधको फल वा अवैध रूपमा राखिएका अन्य सामग्री पत्ता लाग्ने विश्वास गर्ने सकिने सम्भावित कारण थियो भनेर लेखेका छन्।

उक्त परिसरमा अवरोधको प्रमाण फेला पर्नेछ भन्ने विश्वास गर्ने सम्भावित कारण पनि भएको त्यसमा उल्लेख गरिएको छ। ट्रम्पको मारा लागो निवासबाट गत ज्यानुअरीमा फेला पारेका १५ बाकस कागजपत्र केलाउँदा न्याश्नल आर्काइभ्सले तीमध्ये केही अतिगोप्य वर्गीकृत फाइल पनि रहेको पत्ता लगाएपछि ट्रम्पमाथि आपराधिक मामिलामा अभूतपूर्व अनुसन्धान सुरु भएको देखिन्छ।

एफबीआईले ती कागजपत्रको समीक्षा गरेपछि तिनमा १८४ वर्गीकृत कागजपत्र फेला परे। तीमध्ये ३५ वटा अतिगोप्य थिए। त्यस्ता कागजपत्रमा अमेरिकी गुप्तचर स्रोतबाट प्राप्त जानकारीहरू पनि समावेश थिए। केहीमा विदेशी नागरिकहरूलाई जारी गर्न नमिल्ने चिह्न लगाइएको थियो। केहीमा ट्रम्पका हस्तलिखित टिप्पणीहरू थिए र ती कागजपत्रहरू पत्रपत्रिका तथा अन्य दस्ताबेजसँग राखिएको थियो । यो सबै विवरण मुचुल्कामा दिइएको छ।

मुचुल्कामा भनिएको छ, ‘सबैभन्दा चिन्ताको विषय के थियो भने अतिगोप्य भनिएका रेकर्डहरू खोलिएका थिए, तिनलाई अन्य रेकर्डसँग मिसाइएको थियो वा अनुचित रूपमा पहिचान गरिएको थियो।’ त्यसले अनुसन्धानकर्ताहरूलाई ट्रम्पले गोप्य जानकारी नियन्त्रण गर्ने सहित तीनवटा सङ्घीय कानुनको उल्लङ्घन गरेको हुनसक्ने विश्वास दिलायो। मुचुल्काका ३८ पानामध्ये २१ मा अधिकांश वा पूर्णतः कालो बनाइएको छ। धेरै पानामा एक शब्द पनि देखिँदैन।