समाचार

युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग

काठमाडौं । युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनःप्राप्ति गरेको जनाएको छ। प्रत्याक्रमणको यो उल्लेख्य अवस्था यदि पुष्टि भएमा त्यो किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुनःप्राप्ति गरेको देखिने बीबीसीले जनाएको छ । बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर र शनिवार साँझ २,००० वर्गकिलोमिटर भूमि पुनःप्राप्ति गरेको बताए ।

बीबीसीले युक्रेनले गरेको दाबीलाई पुष्टि गर्न नसकेको र पत्रकारहरूलाई अग्रमोर्चामा जान रोकेको समेत जनाएको छ । युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै थप भूभाग उसको नियन्त्रणमा आएपछि रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्त्वपूर्ण सहरहरूबाट पछि हटेको समेत समाचारमा उल्लेख छ । युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ। रुसी फौजका लागि सामान आपूर्ति गर्न उक्त सहर निकै महत्त्वपूर्ण मानिन्थ्यो। रुसी रक्षा मन्त्रालयले आफ्नो सेना फेरि सङ्गठित हुनू का लागि नजिकै रहेको इन्ज्यूमतिर गएको जनाएको छ।

रुसले तेस्रो महत्त्वपूर्ण सहर बालाक्लियाबाट पनि आफ्ना सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ। उसका अनुसार डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट सैनिकहरू फिर्ता भएका हुन्। यदि युक्रेनले आफू अगाडि बढेको ठाउँलाई नियन्त्रणमा राख्न सक्यो भने एप्रिल महिनामा किएभवरपरबाट फिर्ता भएको घटनापछि यो सबैभन्दा उल्लेखनीय उपलब्धि भएको समेत समाचारमा जनाइएको छ ।

शनिवार राति भिडिओबाट सम्बोधन गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो महिनाको आरम्भतिर प्रत्याक्रमणको कारबाही सुरु भएपछि युक्रेनले २,००० वर्ग किलोमिटर क्षेत्र रुसको नियन्त्रणबाट मुक्त गरेको दाबी गरेका छन्। उनको दाबीअनुसार त्यसमध्ये आधा भूभाग ४८ घण्टामा फेरि युक्रेनको नियन्त्रणमा आएको भन्ने बुझिन्छ। बिहीवारको सम्बोधनमा उनले भनेकोभन्दा यो दुईगुना क्षेत्र हो।

इज्यूमबाट आफ्नो सेना फिर्ता भएको रुसको घोषणा पनि महत्त्वपूर्ण छ। उक्त सहर रुसका लागि एउटा मुख्य सैन्य केन्द्र बनेको थियो। तीन दिन लगाएर इज्यूम(बालाक्लियाबाट सैनिकहरूलाई डोनेट्स्क सारिएको रुसी विज्ञप्तिमा उल्लेख गरिएको छ। रुसी सैनिकहरूतर्फ क्षति हुन नदिन शत्रुपक्षलाई हराइएको दाबी रुसले गरेको छ।


त्यसको केही समयपछि खार्किभमा रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूको प्रशासक स्थानीयवासीहरूलाई ज्यान जोगाउन रुसतिर जान भनेको रुसको सरकारी समाचारसंस्था तासले जनाएको छ। नजिकै रुसपट्टि रहेको बेल्गोरोड क्षेत्रका गभर्नरले सीमा पार गर्न पालो कुरिरहेका मानिसलाई सहयोग गर्न खानेकुरा, ताप र औषधिको व्यवस्था गरिएको जनाएका छन्।

युक्रेनले पश्चिमा साझेदार राष्ट्रहरूलाई सैन्य सहयोग उपलब्ध गराउन निरन्तर आग्रह गरिरहेको बेला युक्रेनी सेनाको उपलब्धिले उससँग रुसले नियन्त्रणमा लिएको भूभाग फिर्ता लिन सक्ने सामर्थ्य भएको सङ्केत मानिएको छ। यसअघि यूकेका रक्षा अधिकारीहरूले यसअघि रुसनियन्त्रित भूभागमा युक्रेन ५० किलोमिटरभित्र अघि बढेको बताएका थिए।