विश्व

नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनी काठमाडौंबाट दषिण कोरिया प्रस्थान गरेका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरे । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित भए ।

उनी सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।

सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरे ।