बिचार

अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्यूतिनु असंवैधानिक कदम हो : ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट प्रतिनिधिसभा पुनःस्थापनालाई असंवैधानिक कदम भनेका छन् । शनिबार प्रतिनिधिसभा अधिवेशनको अन्तिम बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान सरकारको पालामा भ्रष्टाचारसमेत बढेको बताए ।
आफ्नो सरकारले गत वर्ष वैशाख १७ र २७ गते चुनाव घोषणा गर्नु प्रतिगमन नभएको पनि उनले दोहोर्‍याए ।

उनले भने, ‘गत वर्ष वैशाख १७ र २७ गते चुनाव गर्दा प्रतिगमन कहाँ आउँथ्यो । निर्वाचनमा जानुलाई प्रतिगमन भनिँदैन । परमादेशबाट असंवैधानिक तरिकाले सरकार गठन गरिनुचाहिँ प्रतिगमन हो ।’ त्यसअघि प्रधानमन्त्रीले परमादेशकै कारणले सदनमा ओलीसँग संसद्‍मा भेट भएको बताएका थिए ।

त्यसै प्रसंगलाई उप्काउँदै ओलीले भने, ‘आज छुट्टिने बेलामा के कठोर बोली बोल्नु छ र, प्रधानमन्त्रीले यस्सो कुरा उठाउनु भएको भएर मात्र बाटो बिराउला कि भनेर त्यसलाई सही बाटोमा लैजान मात्र भनेको हुँ । अहिले भ्रष्टाचार त के कुरा गर्नु र ? …भन्दा देख्नेलाई लाजु एउटा नेपालीमा उखान छ त्यसको आधी मात्र भनेको । भ्रष्टाचारको उन्मूलन संविधान र कानुनबमोजिमको राज जनताले आकांक्षा गरेका हुन्छन् ।बाहिरबाहिर एकथोक भनिने र भित्रभित्र अर्कोथोक गरिने अपेक्षा गरेका हुँदैन जेहोस् सम्माननीय प्रमले यसो कुरा उप्काउनु भएको हुनाले मात्र यो कुरा भनेको हुँ ।’

प्रतिनिधिसभाको कार्यकाल असोज १ (शनिबार) मा सकिँदै छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभाको यो अधिवेशन असोज १ गते मध्यराति १२ बजेबाट अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ ।