बिचार

उमेर उच्छश्रृखलता र अपराध

कल्पना शाक्य
अधिवक्ता

शिशु अवस्था, बाल्यकाल, किशारावस्था, यौवन, परिपक्वता र बृद्धावस्था मानिसले जिवनकालमा पार गर्ने उमेरका चरणहरु हुन् । हरेक उमेरको आफ्नै विशेषता छन्, अधिकार र दायित्व छन् । उमेरका यी चरणहरुमध्ये किशोरावस्था सबैभन्दा सम्बेदनशिल मानिन्छ । किनभने बढी रम्ने, रमाउने, मै मात्र ठिक, क्षणिक रमाईलो र आकर्षणमा मात्र भुल्न खोज्ने जस्ता लक्षण यो उमेर समूहमा स्वभाविक रुपमा देखिन्छ ।

मानिसको शरीरमा निधार पछाडी मस्तिष्कको भागमा रहेको Prefrontal Cord हो जसको मुख्य काम भविष्यको बारेमा नसोची तुरुन्तै मजा आउने काममा रमाउने ईच्छाहरुलाई रोक्नु हो । । २० वर्ष उमेर नपुग्दासम्म आफ्नो लागी सही र गलत छुट्याउन सक्ने गरी यो अङ्ग पूर्ण विकसित भईसकेको हुँदैन । किशोर किशोरीमा यो अङ्गको विकास नभईसकेको हुँदा उनीहरु, तुरुन्तै आनन्द दिने कुराहरुमा आकर्षित हुन्छन् ।

एउटा ब्यक्ति आफ्नो एउटै जीवनमा धेरै ब्यक्ति, विचार, ठाउँ, चिजबस्तुप्रति आकर्षित हुनु प्राकृतिक विशेषता नै हो । आखाँबाट मनमा उत्रेर ओठबाट वाह शब्द निस्कन्छ भने त्यो नै आकर्षण हो । बाह्य रुप, बिचार बौद्धिकता, ब्यबहार, साहस, लगनशिलता, मिलनसारिता आदी जुनसुकै कुराको आकर्षणले मानिसलाई खिच्दछ तसर्थ बिपरित लिङ्ग र यौनसम्म मात्र आकर्षणलाई सिमीत गरेर बुझ्नु बैचारिक संकुचताको पराकाष्ठ हो तर पनि आकर्षणकै बहकावमा बहकिएर धेरै अपराध घटित भईरहेको परिप्रेक्षमा यहाँ यौन अपराधकै चर्चा गरिएको छ ।

नैतिकताको कसीमा उभिएर हेर्ने हो भने भरोसा तोड्नु जस्तो ठूलो अपराध अर्को हुन सक्दैन । तर अहिले हाम्रो समाजमा बारबार भरोसा तोडिएका घटनाहरु सार्वजनिक भईरहेका छन् । कहिले आफ्नै संरक्षकबाट त कहिले आफ्नै प्रेमीबाट यौन दुर्व्यवहारको शिकार भएका घटना दिनप्रतिदिन बढ्दै जान थालेपछि आफ्नो प्रभावमा रहेका व्यक्तिबाट आफ्नो स्वार्थ पुरा गराउने कार्यलाई नेपालको कानुनले समेत अपराधको परिभाषाभित्र समेट्यो । यौन सम्बन्ध स्थापित गर्नको लागी योग्य उमेर निर्धारण गर्यो । यसो गर्नुको मकसद ब्यक्ति शारीरिक वा मानसिक रुपमा त्यसको लागी तयार भईसकेको होस् भन्ने नै हो । तसर्थ निश्तित उमेर नपुगेसम्म सहमतीले पनि शारीरिक सम्बन्ध कायम गराउन नहुने व्यवस्था कानुनले गर्यो ।

वर्तमान कानुनी व्यवस्था अनुसार दुबैको सहमतिमा नै भएको सम्बन्ध पनि जबरजस्ती करणीको अपराध हुने अवस्थाहरु ;

मुलुकी फौजदारी अपराध संहिता, २०७४ को दफा २१९ को उपदफा (२) : “कसैले मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा ।

दफा २१९ को उपदफा (२) (क) : करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन ।

दफा २२२ को उपदफा (१) आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गरेमा ।

दफा २२३ : कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गरेमा ।

(तसर्थ विवाह गर्ने झुठो प्रलोभन दिएर केटिको मञ्जुरी लिई सम्बन्ध बनाएता पनि बलात्कार नै ठहर्छ)

कानुनी व्यवस्थाका विवादीत पाटोहरु : १)​हाम्रो कननुनले १८ वर्ष मुनिका किशोरीसँग सहमतिमै शारीरिक सम्बन्ध बनाउँदा उमेर पुगेका पुरुषलाई सजाय हुने व्यवस्था भए जसरी १८ वर्ष मुनिका पुरुषसँग उमेर पुगेका महिलाले शारिरिक सम्बन्ध कायम राख्दा सो व्यवहारलाई अपराधभित्र नसमेटेको हुँदा सजायको कुनै गुञ्जायश रहेको देखिदैन । यसले गर्दा कानुन बिभेदकारी देखिन्छ ।

२)​ बालिग हुने उमेरको हद १६ वर्षबाट १८ बर्षको बनाईदिदा १७ वर्षकी किशोरीसँग सहमतिमा सम्बन्ध बनाउँदा कसुर ठहर्ने कानुनले गर्दा धेरै किशोर तथा युवाहरु बलात्कार जस्तो जघन्य अपराधमा अपराधी घोषित भईरहेको वर्तमान परप्रेक्षसँग धेरैको असन्तुष्टि रहेको ।

कानुनको स्पष्ट व्यवस्थाको कारण सो कानुन यथावत रहेसम्म परिपालना गर्नुको बिकल्प छैन । भोलिको दिनमा यो कानुन परिवर्तन गर्न जरुरी छ/छैन? भन्ने विषयमा सामाजिक बहस चलाउन सकिन्छ ।

सामाजिक मनोविज्ञान :

जैविक बाहेक अन्य सामाजिक, मनोबैज्ञानिक कारणहरुले गर्दा पनि किशोर किशोरीहरु गलत बाटेमा लाग्न सक्छन् । छोरी मान्छेले आँट दिएपछि छोरा मान्छेले बाँकी राख्छ र? किन उत्ताउलो हुनु? , छोटा लुगा लगाउनु ? , राति राति हिड्नु ? किन अहिलेदेखि प्रेम गर्नु ? यसो गरेपछि त, उसो गरेपछि त केटा मान्छेले बाँकी राख्छ त? आफुलाई जोगाएर, लुकाएर राख्न नसक्नुमा दोष केटीकै भएन र ? झट्ट हेर्दा त छोरीलाई भएभरको दोष दिई पुरुषको पक्षपोषण गरेजस्तो देखिए पनि यस्तो मानसिकताले छोरा मान्छेलाई त झन पशुसँग तुलना गरिरहेको छ, वास्तवमा । मान्छेले जसरी बाघ भालुसँग आफुलाई जोगाएर राख्दछ त्यसरीनै महिलाले आफुलाई पुरुषबाट जोगाएर राख्नुपर्ने मान्यताको प्रतिनिधित्व यस्तो मनोविज्ञानले गरिरहेको छ । पुरुषसँग पनि विवेक हुन्छ, गर्न हुने र नहुने काम छुट्याउनु पर्छ, असल पुरुषले कानुन उल्लङ्खन गर्दैन, गर्न हुँदैन भनेर सोच्न सम्म नसक्नुले पुरुषलाई विवेकशिल मानिस होईन बरु आफुभन्दा निर्बललाई झम्टिहाल्ने पशु ठानिरहेको छ ।

अन्त्यमा;
जब जब महिला बिरुद्ध पुरुषद्वारा हुने हिंसाका घटना बाहिर आँउछन् तब तब समाज ठ्याक्कै बिपरित दुई ध्रुवमा बाडिन्छन्, एकथरी महिलालाई सत्तोसराप गर्छन् अर्काथरी पुरुषलाई । गल्ति महिलाबाट पनि हुन्छ पुरुषबाट पनि । तर गल्ति र अपराध फरक कुरा हुन् । विश्वास नगर्नुपर्ने मानिसलाई विश्वास गरेर आफ्नो आत्मसम्मानको बली चढाई सजिलैसँग आफुलाई सुम्पदा त्यहाँ गल्ति भईरहेको हुन्छ तर त्यो विश्वासको घाँटी रेट्दा अपराध हुन्छ । गल्ति गर्नेले माफी पाउँछ तर अपराधीले कानुन अनुसारको सजाय भोग्नै पर्दछ ।

हामीले पक्ष र बिपक्षमा चरमबादी भएर उभिनु भन्दा अगाडी यो बिर्सनु हुँदैन कि हरेक घरमा छोरा पनि छ, हरेक घरमा छोरी पनि छ । छोराछोरी दुबैलाई आत्म सम्मानको बारेमा सिकाउनु जरुरी छ । संसारमा सबै मानिस बिशेष छन्, ऊ जस्तो न कोही थियो न कोही हुनेछ यति कुरा छोरीहरुले जानेका भए कसैलाई भगवान नै सम्झिएर उसका अगाडि लम्पसार पर्ने थिएनन् होला । कसैले विश्वास गरेपछि त्यो विश्वास डगमगाउन दिनु हुँदैन, आफुभन्दा कमजोरलाई सुरक्षा प्रदान गर्नुपर्छ, आफ्नो संरक्षणमा रहेकालाई जोगाउनु मेरो दायित्व हो, ईज्जत छोरा मान्छेको पनि गहना हो भन्ने कुरा छोराले जानेका भए अवश्य पनि बालिका बलात्कारका घटनाहरु बढ्ने थिएनन् होला ।