समाचार

म्यादी प्रहरीमा दोब्बर आवेदन

काठमाडौं । म्यादी प्रहरीमा मागभन्दा दोब्बर भन्दा बढीले आवेदन परेको नेपाल प्रहरीले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो । आवेदन भने २ लाख ३२ हजार ८८ जनाको परेको छ । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३० गते भर्ना खोलिएको थियो ।

आवेदन दिने म्याद बिहीबार सकिएको छ । यो अवधिमा देशभरबाट २ लाख ३२ हजार ८८ जनाले म्यादी प्रहरी बन्न आवेदन दिएका प्रहरी प्रवक्ता डीआईजी टेकप्रसाद राईले जानकारी गराएका छन् । सबैभन्दा धेरै मधेस प्रदेशमा आवेदन परेको छ । सबैभन्दा कम कर्णाली प्रदेशमा परेको छ ।

मधेस प्रदेशबाट ६६ हजार ८ सय ८४, वाग्मतीबाट २१ हजार १ सय ६, गण्डकीबाट १५ हजार ९ सय ९, लुम्बिनीबाट ४३ हजार ९ सय ५, कर्णालीबाट १४ हजार ९ सय ३६, सुदूरपश्चिमबाट २४ हजार ४ सय ५०, प्रदेश १ बाट ३५ हजार ८ सय २६ र काठमाडौं उपत्यकाबाट ९ हजार ७२ जनाले आवेदन दिएका छन् ।

दरखास्त दिने सबैलाई शुक्रबार सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न भनिएको छ । ९ गतेदेखि १४ गतेसम्म भर्ना छनोट हुनेछ । दरखास्त दिनेमध्येबाट १ लाख १५ हजार म्यादी प्रहरी छनोट हुन्छन् । म्यादी प्रहरीले ४० दिने कार्य अवधिमा तलब र रासनबापत ४१ हजार ९ सय ६० रुपैयाँ पाउँछन् ।