फिचर

कच्चा तेलको मूल्यमा उच्च गिरावट, ९ महिना यताकै सस्तो

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ । कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै ९ महिना यताकै सस्तो भएको छ ।

विश्व बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ७८ डलरसम्म आइपुगेको छ । आइतबार अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआइ)क्रुड आयलको भाउ ५.६९ प्रतिशतले घटेर प्रतिब्यारेल ७८.७४४ डलरमा आएको छ । जुन ९ महिना अर्थात् सन् २०२२ जनवरी यताकै सस्तो हो ।

त्यस्तै, ग्लोबल ब्रेन्ट बेन्चमार्क ४.३१ प्रतिशतले घटेर ८६.१५ डलरमा झरेको छ । अमेरिकी अर्थतन्त्रमा मन्दी आउने हल्ला र डलरको भाउ आकाशिएसँगै कच्चा तेलको भाउमा उच्च गिरावट आएको हो ।

अन्तर्राष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने डरले तेलको भाउमा गिरावट आएको विश्लेषकहरु बताउँछन् । बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउने गरेको छ ।

विश्वव्यापी आर्थिक मन्दी आउने हल्लाका कारण पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा तेलको भाउमा लगातार गिरावट आइरहेको छ ।

रुसले युक्रेनमा आक्रमण सुरु गरेसँगै अमेरिका र युरोपेली देशहरुले रसियन तेलमा प्रतिबन्ध लगाएसँगै विश्व बजारमा तेलको भाउ प्रतिब्यारेल १३९ डलरसम्म पुगेको थियो । तर, पछिल्लो समय युद्ध कायमै रहे पनि अन्य उत्पादक देशहरुले उत्पादन बढाउँदा मूल्यमा केही गिरावट आएको थियो ।

पछिल्लो दुई महिना यता विभिन्न अध्ययनहरुले विश्वभर आर्थिक मन्दी आउने प्रक्षेपण गरेपछि तेलको खपतमा समेत केही गिरावट आएको छ । जसकारण कच्चा तेलको मूल्यमा गिरावट आउन थालेको छ ।

यदि विश्वव्यापी आर्थिक मन्दी आएमा यस वर्षको अन्त्यसम्म कच्चा तेलको भाउ प्रतिब्यारेल ६५ डलरसम्म आउने अमेरिकाको सिटी बैंकले चेतावनी दिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेसँगै नेपाललाई पनि केही राहत मिल्ने देखिन्छ । नेपाल भारतबाट पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । विश्व बजारमा तेलको भाउ घटेपछि भारतमा पनि घट्ने हुँदा नेपालमा पनि केही सस्तोमा आउने छ ।

यद्यपि, गत महिना लगातार तीनपटकसम्म इन्धनको भाउ घटेर आए पनि नेपाल आयल निगमले भने मूल्य घटाएको थिएन ।