विज्ञान प्रविधि

काठमाडौंको फोहोर व्यवस्थापनबारे मेयर बालेन र जर्मन राजदूतबीच छलफल

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका विषयमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र नेपालका लागि जर्मनका राजदूत डा. थोमास प्रिन्सबीच छलफल भएको छ । राजदूत थोमसले फोहोर व्यवस्थापनमा जर्मन सरकारले गरेको सहयोगप्रति चासो राख्दै फोहोर व्यवस्थापनको पछिल्लो अवस्थाबारे मेयर साहसँग जानकारी लिएका थिए । सो क्रममा साहले फोहोरको दीगो व्यवस्थापन गर्न सरल, सहज र छिटो परिणाम प्राप्त हुने प्रविधिलाई प्राथमिकता दिने बताए ।

फोहोर व्यवस्थापनको योजनाबारे जानकारी गराउँदै मेयर साहले भने, ‘फोहोर व्यवस्थापनका लागि धेरै प्रविधि छन् । हामीसँग प्रस्ताव पनि धेरै छन् । तीमध्ये वर्गीकृत फोहोरलाई प्रकृतिअनुसार व्यवस्थापन गर्न सकिने दीगो प्रविधि हाम्रो प्राथमिकतामा छ ।’

फोहोरको वर्गीकरण र व्यवस्थापनका लागि जर्मन सरकारले जीटीजेड कार्यक्रममार्फत काठमाडौं महानगरलाई सहयोग गरेको थियो । राजदूत प्रिन्सले आपसी सहयोगका विषयमा कुरा गर्दै, परम्परागत संगित, शिक्षण तथा प्रवर्द्धनका लागि सहयोगको इच्छा व्यक्त गरेका थिए । उनले सहरी विकास, निर्माण र व्यवस्थापनका विषयमा चासो राखेका थिए ।