समाचार

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण गर्न विशेष जहाज नेपाल आयो

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षणका लागि विशेष जहाज नेपाल आएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले ५ मंसिरबाट ११ मंसिर सम्म पोखराको क्यालिब्रेसन उडान गर्ने भएको छ । यान्त्रिक परीक्षण उडानका लागि एरो थाई कम्पनीको जहाज नेपाल आइसकेको प्राधिकरणले जनाएको छ । जहाज आइतबार नेपाल आएको हो । यो जहाज आगामी ५ डिसेम्बरसम्म नेपाल रहने छ ।

यसबीचमा पोखरामा क्यालिब्रेसन उडान हुनेछ । त्यसबाहेक देशभरका आन्तरिक विमानस्थलका उपकरण जाँचमा नियमित परीक्षण उडान समेत यसै जहाजबाट गरिनेछ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सरकारले १ जनवरी २०२३ देखि व्यावसायिक उडान गर्ने निर्णय गरिसकेको छ । त्यस अगाडि परीक्षणहरु हुनुपर्छ । प्राधिकरणका अनुसार क्यालिब्रेसन फ्लाइट एक विस्तृत यान्त्रिक परीक्षण उडान हो । यो सम्पन्न भएपछि उडान गरेको कम्पनीले प्रतिवेदन बुझाउँछ ।

सोही प्रतिवेदनका आधारमा नयाँ विमानस्थलमा परीक्षण उडान गरिन्छ । परीक्षण उडान समेत सफल भएको प्रतिवेदन आएपछि भने विमानस्थलमा अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि कम्पनीहरुले अनुमति पाउँछन् । तालिका अनुसार एरोथाईको जहाज २ मंसिरमै पोखरा पुग्नेछ । ३ मंसिरमा परीक्षण उडानबारे प्राधिकरणका अधिकारी र क्याविन क्रु तथा इन्जिनियरहरुसँग तयारी बैठक हुनेछ ।

४ मंसिरमा नेपालमा प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन हुँदैछ । निर्वाचनको भोलिपल्ट अर्थात ५ मंसिरदेखि भने पोखरामा क्यालिब्रेसन उडान हुने छ । यस उडानका दौरान एयर ट्राफिक कन्ट्रोलर टावर, धावनमार्ग र विमानस्थल आसपासमा जडान सबै उपकरणहरुले काम गरे नगरेको जाँच हुन्छ ।