समाचार

जनताको अभिमत : पार्टी होइन पात्र

काठमाडौं । प्रतिनिधिसभा र तथा प्रदेश सभाको प्रारम्भिक नतिजाहरु आउने क्रम जारी छ । सोमबार अबेरसम्म करीव १ सय निर्वाचन क्षेत्रको प्रारम्भक नतिजा आएको छ । जसमा कांग्रेस र एमालेबीच पहिलो हुने होडबाजी चलिरहेको छ । पुराना पार्टीलाई रवी लामिछानेको दल राष्ट्रिय स्वतन्त्र पार्टीले उत्तिकै चूनौति दिइरहेको छ । गठबन्धन गरेर गएका दलहरुलाई समेत जनताले पत्याएनन् । जसका कारण माओवादी केन्द्र र समाजवादी पार्टीले सोचेजति मत नपाएको देखिएको छ ।

सोमबार सम्मको ट्रेण्ड अनुसार यस पटक जनताले पार्टी भन्दा पात्र हेरेको पाइएको छ । यसअघि पदमा नबसेका, जनताबाट आलोचित नभएका र परीक्षण नै हुन बाँकी व्यक्तिहरुले पार्टी भित्र र स्वतन्त्रमा समेत भोट पाइरहेको मत परिणामले देखाएको छ । मुस्ताङमा नेपाली कांग्रेसका योगेश गौचनले २९ वर्षको उमेरमै सांसद जित्न सफल भएका छन् । यो नै यस चुनावको पहिलो परिणाम हो । तराईमा सीके राउतलेजनमत पार्टीमार्फत जसपाका उपेन्द्र यादवलाई कडा टक्कर दिइरहेका छन् । उनको पार्टीले सप्तरीसहित तराईका विभिन्न जिल्लामा अग्रता लिएको छ ।

काठमाडौं उपत्यकासहित शहरी इलाकामा समेत जनताले नयाँ स्वाद चाख्न चाहेको सन्देश दिएका छन् । जसको नतिजा ब्यालेटमा देखिन थालेको छ । यस पटक विभिन्न पेशा, व्यवसायमा दक्षता हाँसिल गरेका उम्मेदवारले संसदमा प्रतिनिधित्व गर्ने संकेत समेत देखिएको छ । ललितपुर ३ बाट अग्रता लिइरहेकी तोसीमा कार्की डाक्टर हुन् । काठमाडौं २ बाट अग्रता लिइरहेकी सोविता गौतम वकिल हुन् । यद्दपी सोमबारसम्म प्रारम्भिक नतिजा मात्र आएको हो । देशैभरबाट आउने परिणामले मात्र जनमतलाई अझ स्पष्टसँग विश्लेषण गर्न सकिन्छ ।