फिचर

काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकबीच छुरा हानाहान भएको छ । प्रहरीका अनुसार सो क्रममा घाइते एक जनाको ज्यान गएको छ । काठमाडौंको इन्द्रचोकमा यस्तो घटना भएको हो । आइतबार बिहान साढे ११ बजे काठमाडौं महानगरपालिका २५ इन्द्रचोकमा एक चिनियाँ नागरिकले अरू दुई जना चिनियाँलाई चक्कु प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ । तीमध्ये एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।

२९ वर्षीय गान साउजिंगको ट्रमा सेन्टरमा उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको हो। उनी र ३२ वर्षीय लि चुआनमाथि ३७ वर्षीय फेङ्गजेङ्ग युनले चक्कु प्रहार गरेका हुन्। चक्कु प्रहार गरी साउजिंगको पेट, छाती र टाउकोको बायाँ भागमा चोट लागेको थियो। यता चुआनको पनि पेटमा गहिरो चोट लागेको छ। उनको ट्रमा सेन्टरमा उपचार जारी छ।

प्रहरीका अनुसार उनीहरूबीच इन्द्रचोकको बाटोमा विवाद भएको थियो। विवाद बढ्दै गएपछि युनले चक्कु प्रहार गरेका हुन्। उनीहरू नेपालमा घुम्न आएका हुन्। तर बीच सडकमै आर्थिक लेनदेनको विषयमा विवाद भएपछि घटना भएको बताइएको छ । उनीहरू दुई वर्ष जाम्बियामा सँगै बसेको समेत प्रहरीले जनाएको छ। प्रहरीले आरोपित युनलाई पक्राउ गरेको छ।