विश्व

रोनाल्डोबीनै पोर्चुगलको सनसनीपूर्ण जित, स्वीट्जरल्याण्डलाई ६ गोल

काठमाडौं । भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोबीनै मैदान उत्रिएको पोर्चुगलले विश्वकप फुटबलमा सनसनीपूर्ण जित निकालेको छ । युवा फरवार्ड गोन्सालो रामोसले क्रिस्टियानो रोनाल्डोको स्थानमा पहिलो रोजाइमा खेलेका थिए । उनले ह्याट्रिक गरेपछि स्वीट्जरल्याण्डलाई ६–१ को फराकिलो गोलअन्तरले हराएको हो । यससँगै पोर्चुगल कतारमा जारी फिफा विश्वकपको क्वाटरफाइनल प्रवेश गरेको छ । २१ वर्षीय युवा फरवार्ड रामोस जारी विश्वकपमा ह्याट्रिक गोल गर्ने पहिलो खेलाडी समेत बने ।

पोर्चुगिज प्रशिक्षक फर्नाण्डोे सान्तोषले नियमित कप्तान तथा सुपरस्टार खेलाडी क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेका थिए । रामोसले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गरे । रामोसले जाआओ फेलिक्सको पासमा १७औं मिनेटमै गोल गर्दै पोर्चुगललाई अग्रता दिलाए । डिफेण्डर पेपेले ३२औं मिनेटमा ब्रुनो फर्नान्डेजको कर्नरमा गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । ५१औं मिनेटमा रामोसले डिएगो डालोटको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३–० बनाए ।

५५औं मिनेटमा राफेल गुरेइरोले रामोसकै पासमा गोल गर्दै पोर्चुगलको अग्रता ४–० पुर्‍याए । ५८औं मिनेटमा स्वीट्जरल्याण्डका मानुएल अकान्जीले गोल फर्काए । ७१औं मिनेटमा रामोसले फेलिक्सको पासमा व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पूरा गरे । इन्जुरी टाइममा राफे लिआयोले गोल गर्दै पोर्चुगललाई ६–१ को जित दिलाए । यससँगै पोर्चुगलले क्वाटरफाइनलमा अफ्रिकन टिम मोरक्कोसँग भेट पक्का गरेको छ ।