बिचार

व्यवसायी सडकमा होइन, उद्योग व्यवसायमा लाग्नु पर्यो : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले उद्योगी, व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लाग्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा भएको ‘फिन इलेक्ट्रिक टेक २०२२’ प्रदर्शनी कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उद्योगी व्यवसायीका समस्या समाधानको लागि सरकार गम्भीर रहको भन्दै उद्योगी व्यवसायी सडक आन्दोलनमा नभई उद्योग व्यवसायमा लागेर उत्पादन बढाउनुपर्ने बताए ।

उनले सरकारले तरलता तथा बैङ्क ब्याजदर वृद्धि लगायतले उद्योग व्यवसायीका समस्या समाधानको लागि निजी क्षेत्र, राष्ट्र बैङ्क, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि सहितको कार्यदल दिएको सुझावका आधारमा काम भइरहेको बताए । मन्त्रिपरिषद्मा सरकारको निजी क्षेत्रका समस्या समाधान गर्न हस्तक्षेप गर्नुपर्ने माग राखेको भन्दै उनले उद्योगी व्यवसायीले सडक रोज्नु नहुने बताए ।

उनले सरकार व्यवसायीका समस्या समाधान गर्ने नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको समेत बताए । मन्त्री शर्माले व्यवसाय नै छोडेर सडकमा आन्दोलन गर्ने व्यवसायीको काम नभएकोसमेत बताए । बैङ्कको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्दर्भमा सरकारले गम्भीरतापूर्वक छलफल गरिरहेको उनको भनाई छ ।